विप्लव समुहद्वारा कञ्चनपुर, कैलाली र अछामका स्थानीय तहमा तालाबन्दी

Biplab1

 काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले कञ्चनपुर, कैलाली र अछामका स्थानीय तहमा तालाबन्दी गरेको छ।

कञ्चनपुरका ९ वटा र कैलालीका धेरैजसो स्थानीय तहमा विप्लव समूहले तालाबन्दी गरेको हो । पार्टीको सेती महाकाली ब्युरो नामबाट तालाबन्दी गरिएका कार्यालयअगाडि संसदीय व्यवस्था अन्त्य र सरकार खारेजी माग गरिएका पर्चासमेत राखिएका छन् ।

यस्तै, अछामका १२ वटा वडा कार्यालयमा पनि विप्लव समूहले तालाबन्दी गरेको छ ।

स्थानीय तहमा व्याप्त भ्रष्टाचार र पार्टीका कार्यकर्ताको धरपकडसँगै झूटो मुठभेडका नाममा हत्या गर्ने शृंखला बढाउँदै लगेकाले विरोधमा प्रथम चरणको घोषित कार्यक्रमअन्तर्गत तालाबन्दी गरिएको पार्टीका नेताहरुले बताएका छन् ।

धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोको पर्चासमेत राखिएको छ।

वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचारी निर्णय गरेकाले त्यसविरुद्ध पार्टीले सुरु गरेको अभियानअन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धविरुद्ध पनि चरणबद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ।
कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहका कार्यकर्ताले शनिबार बेलुका थुनेका थिए। राति साढे ८ बजे कार्यालयमै काम गरिरहेका बेला दुई कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको हो।
यस्तै, पञ्चदेवल विनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर-३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

Comments

Top