तीन वर्षभित्र सबै नेपालीको घर घरमा विजुली : उर्जामन्त्री पुन

barsha man pun

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले मन्त्री पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताए ।

अहिले मुलुकमा अघि बढाइएका २२ वटा विद्युतीय आयोजनाबाट आगामी तीन वर्षभित्रमा तीन हजार ५ सय मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिँदै मन्त्री पुनले उक्त आयोजना निर्माण भइसकेपछि सबै नेपालीको घरमा विजुली पुर्याउन सकिने बताए ।

बैठकमा मन्त्री पुनले सुनकोशी–कमला–मरिन डाइभर्सनबाट मध्य तराई क्षेत्रको एक लाख २२ हजार हेक्टर क्षेत्रफमा सिँचाइ पुग्ने अनुमान गरेर आयोजना अघि बढाउने निर्णय भएको जानकारी दिए ।

मन्त्री पुनले भने–‘यस वर्ष संघमार्फत परिचालन गर्न तटबन्ध निर्माणका लागि दुई अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ, संघ, प्रदेश र स्थानीय तह मिलेर आगामी वर्षमा नदी नियन्त्रणको काममा कुनै कमी हुन दिइने छैन ।’

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना राज्य आफैंले बनाउने सोच राखेको र यसका लागि कुन ढाँचामा कसरी पैसा जुटाएर बनाउने भन्ने बारेमा सम्भावनाको अध्ययन र छलफल भइरहेको मन्त्री पुनले बताए ।

Comments

Top