प्रहरीमाथि विप्लव समूहले अचानक गोली प्रहार गर्‍यो : आईजीपी खनाल

igpnepal

 काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा सुरक्षाका लागि खटिएको नेपाल प्रहरीमाथि अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् ।

 आज बिहान बसेको बैठकमा महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराउंदै भने- 'भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो । प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।'

 घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत आईजीपी खनालले जानकारी दिए । सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उनले बताए । 

 प्रहरीमाथि हतियारधारी समूहले एक्कासी फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको र घटनामा अन्य दुई जना प्रहरी जवान समेत घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । घटनामा सँलग्न चार–पाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Comments

Top