रमन कन्स्ट्रक्सनको अर्को बदमासी : रानी–विराटनगर ६ लेनको सडक अलपत्र

ram2

 विराटनगर । काम गर्न नसकेको भन्दै सरकारले नै नारायणीको पुल बनाउने जिम्मेवारी पाएको ठेकेदार कम्पनी ‘रमन कन्स्ट्रक्सन’ सँग ठेक्का तोड्यो । अहिले उक्त ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढिरहेको छ ।

 जसरी भए पनि करोडौं–अर्बौंको ठेक्का हाता पार्ने तर बर्षौंसम्म कामै नगरी ठेक्का होल्डमा राखेर पेश्कीबापत पाउने १० प्रतिशत रकम पचाउने रोग नै लागेको छ–रमन कन्स्ट्रक्सनई । उक्त कम्पनीले दुई बर्षमा सक्नुपर्ने बहुचर्चित धाप ड्याम्प ६ बर्ष हुन लाग्दा आधा काम पनि सकेको छैन् ।

 उक्त काम दुई बर्षभित्र सक्नुपर्ने गरी सम्झौंता भएको थियो । तर समयावधिमा काम सकिएन । त्यसपछि दुईपटक गरेर करिब ३ बर्षको म्याद थप भयो । तर पनि अहिलेसम्म आधा काम मुस्किलले सकिएको छ । बर्षायाम सुरु भइसकेकाले अहिले काम रोकिएको छ ।

 अर्कोतिर, एडिबी बैंकको ऋण सहयोगमा राजधानीलगायत मुुलुकको विभिन्न ठाउँमा उक्त कम्पनीले गरिरहेको पानी तथा ढलको काम समेत लथालिङ्ग अवस्थामा रहेको छ । बागमती करिडोर निर्माणको काम पनि त्यस्तै भएको छ । सरकारसँग काम लिने तर काम मुस्किलले गर्ने कम्पनीका कारण सरकारी महत्वकांक्षी योजनाहरु जताततै प्वाल परिरहेका छन् ।

 बुधबार सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो मन्त्रालय अन्तर्गत नयाँ आर्थिक बर्षको एकीकृत कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रम आक्रोश पोख्दै भने,‘काम नगर्ने कम्पनीका ठेक्का रद्द गर्दिनू । परेको म व्यहोर्छु  ।’ उनले काम नगर्ने ठेकेदारलाई सम्झौता तुरुन्त रद्द गर्न पनि निर्देशन दिए ।
काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीमाथि सरकार आक्रामक रुपमा प्रस्तुत भइरहँदा रमन कन्स्ट्रक्सन कम्पनीलाई भने कसले र किन बचाइरहेको छ ? चासोको विषय बनिरहेको छ । काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने सरकारी चेतावनी चलिरहेका बेला फेरि उक्त ठेकेदार कम्पनीको अर्को बदमासी फेला परेको छ ।

 त्यो हो–शहरी विकास अन्तर्गत रानी–विराटनगरको ६ लेन सडक विस्तार योजना । विभिन्न टुक्रामा विभिन्न ठेकेदार कम्पनीहरुलाई दिइएको उक्त ठेक्का रमनको अघि र पछि ठेक्का लिनेले समेत सकिसकेको अवस्था छ ।
तर, रमन कन्स्ट्रक्सनले पाएको काम ५ बर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन् । ठेकेदार कम्पनीका कारण सरकारको त्रिदेशीय सडक सञ्जाल जोड्ने महत्वकांक्षी योजना अलपत्र परेको छ ।
सम्झौंता अनुसार गत ०७५ साल चैत्र महिनाभित्र नै उक्त काम सम्पन्न गरिसक्नु पर्थ्यो  ।

 भारतीय सिमा नाका जोगबनी रानीदेखि धरानसम्म बन्ने उक्त ६ लेनको बाटो अलपत्र हुनुको मुख्य दोष भने रमनलाई लागेको छ । कारण–विभिन्न टुक्रामा दिएको ठेक्का अन्य ठेकेदारले सकेता पनि रमन कन्स्ट्रक्सनले भने बाटोको काम अहिलेसम्म सकेको छैन् ।

 त्रिदेशीय नाका जोड्ने महत्वपूर्ण आयोजनाका रुपमा लिइएको उक्त सडक निर्माणमा १० अर्ब बढी रुपैयाँ लागत खर्च लाग्ने बताइएको छ । उक्त सडक एशियाली बिकास बैंकको ऋण सहयोग र नेपाल सरकारको आधा–आधा लगानीमा निर्माण भइरहेको हो । उक्त कम्पनी ठेकेदार बलराम महतो र उनका दुई पुत्र क्रमशः रमन महतो र पवन महतोले सञ्चालन गर्दै आएका छन् । फोटोः मिडिया फाइल

Comments

Top