भ्रष्टाचारमा नयाँ रेकर्ड : एक हजार फाइलको विस्तृत अनुसन्धान गर्दै अख्तियार

ciaan

 काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी करिब एक हजार उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

 प्रारम्भिक छानबिनमा अनियमितता देखिएपछि मात्र आयोगले कुनै पनि उजुरीउपर विस्तृत अनुसन्धानको निर्णय गर्छ । गत वर्ष आयोगमा परेका २४ हजार ४८ उजुरीमध्ये नौ सय २१ उजुरी केलाएर विस्तृत अनुसन्धानमा लगिएको थियो । त्यसमध्ये कतिपय मुद्दा दायर भइसकेका छन् । अघिल्लो आर्थिक वर्ष र नयाँ आर्थिक वर्षका समेत गरेर करिब एक हजार उजुरीमाथि सूक्ष्म अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

विकास आयोजनामा भएका अनियमिततादेखि गैरकानुनी सम्पत्ति आर्जन तथा नक्कली शैक्षिक प्रमाणपत्रसम्मका उजुरीमा आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ । आयोगले अनुसन्धान गरिरहेका ठूला मुद्दामा बालुवाटारको जग्गा हिनामिना, नेपाल वायुसेवा निगमको वाइडबडी खरिद, हायात होटेलको अनियमिततालगायत छन् । केही नेताहरूकको सम्पत्ति छानबिनसमेत विस्तृत अनुसन्धानमा रहेको स्रोत बताउँछ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर उजुरीलाई आयोगले विस्तृत अनुसन्धानमा लगेको हो । अघिल्लो आर्थिक वर्षमा पाँच सय चार उजुरी विस्तृत अनुसन्धानमा लगिएको थियो ।

 विस्तृत अनुसन्धान गरिएपछि आयोगले मुद्दा दायर वा तामेलीमा राख्ने गर्छ । विस्तृत अनुसन्धान गरिएपछि धेरैजसो मुद्दा दायर हुने गरेको छ । विगतको तुलनामा अनुसन्धान र मुद्दा दायर दुवै बढेको छ ।
आयोगले एक हजार पाँच सयदेखि दुई अर्बभन्दा धेरै बिगोका मुद्दासमेत दायर गरेको थियो । एक वर्षमा सर्वाधिक मुद्दा दायर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ रेकर्ड बनाएको छ । आर्थिक वर्ष ०७५र७६ मा आयोगले तीन सय ५१ वटा मुद्दा दायर गरेको हो । (नयाँ पत्रिका)बाट 

Comments

Top