बार्यनसँग रियल पराजित, बेल परेनन्

real

  काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखले रियल मड्रिडलाई पराजित गरेको छ । आइतबार विहान भएको खेलमा बार्यनले रियल मड्रिडलाई ३–१ गोल अन्तरले हराएको हो ।

बार्यनले खेलको १५ औं मिनेटमा कोरिन्टन टोलिसोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोल अन्तरले अगाडि रहेको बार्यनले बाँकी दुई गोल भने दोस्रो हाफमा गरेको थियो ।

खेलको ६७ औं मिनेटमा रोबर्टो लेभान्डोस्कीले गोल गरे भने दुई मिनेटपछि सर्ज गोनाब्रीले गोल गरे । खेलको ८१ औं मिनेटमा बार्यन म्युनिख १० खेलाडीमा सीमित भयो । खराब फउल गरेका कारण स्वेन उलरिचले रातो कार्ड पाएका थिए ।

त्यसको फाइदा उठाउँदै तीन मिनेटपछि नै रियल मड्रिडका रोड्रागोले गोल गरे, तर टोलीको हार टार्न सकेनन् ।

यता, क्लवबाट निकाल्ने तयारीमा रहेका ग्यारेथ बेलले आजको खेलमा पनि अवसर पाएनन् । बेल किन टिममा परेनन् भन्ने प्रश्नमा रियलका प्रशिक्षक जिनेदिन जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने–‘आश छ उनले छिट्टै छाड्नेछन् र, यो सबैका लागि राम्रो हुनेछ ।’

Comments

Top