पहिरोका कारण आमा छोरासहित ९ जनाको मृत्यु, ४ बेपत्ता

gulmi pahiro

  काठमाडौं । अविरल वर्षाले गुल्मी जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

वर्षाका कारण सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकै घरका आमा छोराको मृत्यु भएको छ भने सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको बताइएको छ । पहिरोमा परी ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक, १० वर्षीय हेमन्त बिक र अर्का एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।

उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । तर, वर्षा र पहिरोका कारण अहिलेसम्म घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेको छैन ।

लिम्घाको भीरकुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढी बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। यहाँ अझै पनि २० बढी जोखिममा रहको प्रहरीले जनाएको छ ।

Comments

Top