विकास हेर्न भक्तपुर आए हुन्छ : सांसद बस्नेत

Bridge
भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले क्षेत्र विकास कोषद्वारा निर्माण गरिएका विकासका आयोजनाहरुको प्रभावकारीताको बारे प्रष्ट हुन भक्तपुरमा आएर हेर्न आग्रह गरेका छन् । केही बुद्धिजीविहरुले क्षेत्र विकास कोष (सांसद) कोषको नकरात्मक प्रचार गरेको बताउँदै उनले क्षेत्र विकास कोष विकास र समृद्धिको मेरुदण्ड भएको बताउँदै फुर्सद भए विकास हेर्न भक्तपुर आउनका लागि आग्रह गरेका हुन् ।

क्षेत्र विकास कोष(सांसद) कोषबाट रु १० लाख र स्थानीय टोल बासिन्दाबाट थप रु ३४ लाख आर्थिक र श्रमदान जुटाई निर्माण सम्पन्न भएको मध्यपुर वडा नं १ लोकन्थलिको मनोरम जेष्ठ नागरिक मैत्री पार्कको उद्घाटन कार्यक्रममा बोल्द सांसद बस्नेतले भने "नकरात्मक हल्ला फैलाउने कथित बुद्धिजीविहरुले सांसदहरुले क्षेत्र विकास कोषको रकम वगालीमा लगाउने हो भनि प्रचार गर्ने गरेको जसबाट उनीहरुको बैचारीक दरिद्रता कति छ भन्ने प्रश्न चिन्ह खडा भएको छ । उक्त रकमको प्रयोग कस्तो भएको छ भनि भक्तपुरमा आएर हेरे हुन्छ । जुन खुल्ला किताव जस्तै छ । आम नागरिकले बुझ्छन्, देखेका छन्" ।

खाडी मुलुकले पानी, हरियाली, बनजंगल नभएको ठाउँमा समेत पानी प्रशोधित गरी पार्क तथा बृक्षारोपण गर्ने गरेको जानकारी गराउँदै सांसद बस्नेतले विश्वका विभिन्न मुलुकका देशको तुलनामा नेपाल प्राकृतिक बगैंचा भएको बताए । विकास निर्माणमा सरकार तथा समुदायबीच सहकार्यमा काम गर्नुपर्ने बताउँदै सांसद बस्नेतले भक्तपुरमा आधा दर्जनभन्दा बढी पार्कहरु निर्माणको प्रकृयामा रहेको जसमा नीलबाराहीमा इको पार्क बनाउने कार्य शुरु भइसकेको समेत जानकारी गर्राएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै  सांसद बस्नेतले  हनुमन्ते नदी सफाई अभियानको ७५औं हप्ताको अवसरमा कोटेश्वरदेखी सूर्यविनायकसम्म राजमार्गमा हरियालि बनाउने कार्य बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतित्थयमा शुभारम्भ हुने समेत बताए ।

आगामी दिनमा भक्तपुर विकास नभई रहन नसक्ने बताउँदै भक्तपुरमा हुने कुनै पनि विकास निर्माणको कार्यको लागि बजेटको अभाव नहुने बताउँदै उनले भने , "विकासमा हात्ती छिर्यो, पुच्छर अड्क्यो भन्ने प्रकारको हुनु हुँदैन, कुनै पनि समस्या भए उपयुक्त विकल्प सहित समस्या समाधान गर्नु पर्छ । जहाँ समस्या त्या समाधान हुन्छ" ।

सांसद बस्नेतले विकास र सामाजिक कार्यमा अन्य जिल्लाले भक्तपुरबाट सिक्न लायक रहेको बताउँदै भक्तपुरमा सडक तथा करिडोर निर्माणले कोटेश्वरको सवारी जाम न्युनिकरणमा गर्ने बताए । कोटेश्वरको सुरुङ मार्गको डिपिआरको कार्य समेत शुरु भइसकेको जानकारी गराउँदै उनले भने "सुरुङ मार्ग तथा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माणसँगै कोटेश्वर जडिबुटीको सवारी जामको समस्या दिर्घकालिन रुपमा समाधान हुन्छ" ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, उच्च स्तरिय अधिकार सम्पन्न बागमती सभ्यताका अध्यक्ष नरेन्द्र राज बस्नेत, भक्तपुर सडक डिभिजन कार्यालयका डिई बेल बहादुर भुजेल लगायतका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Comments

Top