युनुुस समूहविरुद्ध खोटा चलन र संगठित अपराधमा मुद्दा चल्ने

yunus

 काठमाडौं। प्रहरीले युनुस अन्सारी समूहबाट भएको नक्कली भारतीय रुपैयाँ तस्करीको अनुसन्धान पूरा गरेको छ । अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दासमेत पेस गरिसकेको छ । गत १० जेठमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले अन्सारीसहितको ६ जनालाई सात करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहति पक्राउ गरेको थियो ।

अनुसन्धानपछि कार्यालयले मुद्दा चलानीका लागि अनुसन्धान फाइल महानगरीय प्रहरी कार्यालय टेकु पठाएको थियो । थप अनुसन्धानपछि मुद्दा सरकारी वकिल कार्यालयमा पेस गरिएको महाशाखा प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । परिसरका अनुसार युनुुस समूहविरुद्ध खोटा चलन तथा संगठित अपराधअन्तर्गत अनुसन्धान भएको र मुद्दा पनि सोहीअनुसार उठान गरिएको छ ।

युनुससहितका टोलीलाई अहिले परिसरकै हिरासत कक्षमा राखिएको छ । उनीहरूविरुद्धको अनुसन्धान पनि परिसरकै हिरासत कक्षामा भएको थियो । युनुस नक्कली भारु तस्करीमा दुईपटक जेल परेर छुटेका व्यक्ति हुन् ।

२४ भदौ ०६६ मा भारतको मध्यप्रदेशमा नक्कली भारुसहित पक्राउ परेका नेपाली अतिक मोहम्मद र राजेश गुप्तासँग युनुसको सम्बन्ध देखिएको थियो । त्यतिवेलादेखि नै उनीलाई प्रहरीले निगरानीमा राखेको थियो । त्यसको पाँच महिनापछि १८ पुस ०६६ मा पाँच सय दरका २५ लाख ४४ हजार नक्कली भारु र तीन किलो सात सय ग्राम खैरो हिरोइनसहित उनी पक्राउ परेका थिए ।

पाकिस्तानी नागरिक मोहम्मद इकबालले भित्र्याएको नक्कली भारु र लागुऔषध युनुसका सहयोगी काशीराम अधिकारीले ठमेलको एक होटेलबाट लिएका थिए । युनुसकै निर्देशनमा लिएको खुलेपछि उनी पनि पक्राउ परेका थिए । तर, १८ भदौ ०७० उनी छुटे ।

दोस्रोपटक १० माघ ०७० मा ३५ लाख नक्कली भारुसहित उनी फेरि पक्राउ परे । जेलभित्रै छँदासमेत उनले कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । भारु तस्करी गर्ने अन्तर्राष्ट्रिय समूहको युनुस प्रमुख व्यक्ति नै भएको प्रहरी अधिकारी बताउँछन् । तर, दोस्रोपटक उनी २ फागुन ०७४ मा जेलमुक्त भएका थिए । (नयाँ पत्रीकाबाट)

Comments

Top