गोरखाको खोर्लाबेशीमा ओढारमुनी भेटियो १६ किलो सुन

gold_1

  काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको अवस्थामा प्रहरीले १६ किलो सुन बरामद गरेको छ ।

खोर्लाबेशी बजारभन्दा एक किमीमाथि पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछीखोलाबाट खटिएको टोलीले आज विहान सुन बरामद गरेको हो।

काठमाडौंबाट पक्राउ परेका चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङले नै पहरोमा लुकाइराखेको सुन देखाएका थिए। गुरुङ भरिया मात्रै हुन् वा सुन तस्कर भन्ने खुलेको छैन।

बरामद गरिएको सुन र गुरुङलाई माछीखोला प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको छ। गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले ओढारमा लुकाएको सुन बरामद भएको तर, त्यसको परिमाण यकीन नभएको बताए ।

असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए ।

उनलाई आक्रमण गर्न खोज्ने ४ जना भने पक्राउ परेका थिए । । पक्राउ परेकाहरुले धनकमलले सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । त्यसपछि खोजी गरेको प्रहरीले धनकमललाई बुधबार काठमाडौंमा पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेर सुन लुकाएको ठाउँमा ल्याइएको प्रहरीले जनाएको छ ।

गुरुङ खच्चड धपाउने काम गर्छन। उनले प्रहरीसमक्ष गाँउमा सुन लुट्न आएको सूचनाको आधारमा आफूले ओढारमा सुन लुकाएको बयान दिएको प्रहरीले जनाएको छ।

Comments

Top