दिपिलसिंह विष्टमाथि शंका छ तर, प्रमाण पुगेन : गृहमन्त्री थापा

ram bahadur thapa

  काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको बताएका छन् ।

सोमबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उनले भने–‘उच्च कार्यसम्पादन स्तर भएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाई अपराध अनुसन्धामा व्यवसायिकता प्रदर्शन गर्दै लगिएको छ ।’

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अनुसन्धानलाई नतिजामा पुर्‍याउन कुनै कसर बाँकी नराखिने पनि गृहमन्त्री थापाले बताए ।

गृहमन्त्री थापाले निर्मलाको हत्यारा दिलिपसिंह विष्ट हुनसक्ने जानकारी गराउँदै उनले भने–‘दिलिपसिंह विष्टविरुद्ध धेरैजसो प्रमाण छन् तर डीएनए रिपोर्ट नमिल्दा अपराधी उहीँ नै भन्न सकेका छैनौं ।’

निर्मला हत्या अनुसन्धानमा प्रहरीबाट गल्ती भएको स्वीकार्दै गृहमन्त्री थापाले केही कमीकमजोरी भएको यस्ता कमीकमजोरी गर्ने प्रहरीलाई कारवाही तथा निलम्बन समेत गरेको बताए ।

मन्त्री थापाले अनुसन्धान तथा छानबिन गर्ने विभिन्न तरिका हुने भएकाले हालसम्मको अनुसन्धानले हत्यारा पत्ता नलागेकाले नयाँ ढंगले अनुसन्धान थालिएको बताए ।

मन्त्री थापाले भने–‘हामीले यसभन्दा अगाडि जुन निकाय (समिति÷उपसमिति) लाई अनुसन्धान गर्न दिएका थियौं, त्यो निकायले हत्यारा पत्ता लगाउन नसकेकाले नयाँ ढंगबाट अनुसन्धान थालेका छौं ।’

समिति बैठकमा सांसदहरुले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानमा प्रहरी कहाँ अलमलियो भनी प्रश्न गरेका थिए ।

२०७५ साउन ११ गते बिहान साढे ९ बजे कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो । साउन १० गते साथी आँचल (रोशनी) बमको घर जान्छु भनेर निस्किएकी निर्मला अर्को दिन ११ गते उखुबारीमा अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् ।

Comments

Top