गृहमन्त्रीविरुद्ध चलाइएको अफवाहयुक्त प्रचारवाजी र यथार्थ

homen

 राधाकृष्ण देउजा/ राज्यको महत्वपूर्ण ठाउँमा रहनेहरुको सबै क्रियाकलापहरुमा जनताको नजर रहनु अनिवार्य नै हुन्छ । जसले गर्दा उनीहरुको कामको आधारमा समर्थन र विरोध पनि अनिवार्य हुने नै भयो । अनि आँकडा हेर्ने हो भने राम्रो कामहरुको समर्थनको तुलनामा नराम्रो कामहरुको विरोध चाहिं व्यापक हुने गर्दछ ।

 जसलाई पनि सहज र स्वाभाविक नै लिनुपर्छ किनकि गलत हुँदा बिरोध भएन भने कतिपय बेला मान्छेले आफू गलत रहेको यथार्थ थाह नै पाउदैन । अनि जव थाह हुन्न भने सच्चिने त सवाल नै हुने भएन । तसर्थ सत्य, तथ्यमा टेकेर सकारात्मकताका साथ निश्पक्ष रहेर गरिने विरोध र आलोचनाहरुको सदैव सम्मान र सुनुवाई हुनुपर्छ ।

यद्धपि तथ्यहीन ढंगले गरिने विरोध र भडकाउ अभिव्यक्तिहरुलाई चाहिं कुनै हालतमा स्वाभाविक मान्नु हुदैन । किनकि त्यसले भ्रम छर्ने, कसैको विनाअर्थमा मानमर्दन गर्नेवाहेक अरु कुनै काम गर्न सक्दैन । हालै सामाजिक संजालमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्वन्धमा बोलेको विषयलाई लिएर आलोचना र विरोधको क्रम देखिएको छ ।

 तर, दुखका साथ भन्नै पर्छ, जुन अभिव्यक्तिलाई लिएर विरोध र आलोचनाको श्रृंखला चलेको छ, त्यसलाइ हेर्दा त्यो आग्रह–पूर्वाग्रहबाट प्रेरित अनि तथ्य भन्दा धेरै टाढा रहेको छ ।

नेपालको इतिहासकै चर्चित, सबैको चिन्ता र चासो रहेको निर्मला पन्त बलात्कार र हत्याको सम्वन्धमा बोल्दै गृहमन्त्रीले भनेको समग्र कुराहरुमा नगएर केवल उनले यस्ता खालका घटना हिजो पनि घटेका थिए, भोलि पनि घटनेछन भने, त्यसमा राजनीतिकरण भयो भन्ने विषयलाइ मात्रै हाइलाइट गरेर उनको चर्को आलोचना गर्दै ‘यस्ता पनि गृहमन्त्री’ भन्नेसम्मका अभिव्यक्ति आएको पढन, सुन्न परेको छ ।

 गृहमन्त्रीको बारेमा आएका ती आलोचनात्मक अभिव्यक्तिहरु या आग्रह पूर्वाग्रहसहित आएका छन् वा सोच र चिन्तन सकारात्मक राखेर गरिएको छन भने पनि त्यो अल्पज्ञानमा आधारित भएर गरिएका छन । किनभने निर्मला पन्त हत्या र बलात्कारको बारेमा बोल्दै गर्दा गृहमन्त्रीले उक्त घटना दुखद रहेको, उक्त घटनाको सत्य तथ्य खोज्ने कार्य चलिरहेको र एकदिन अपराधीलाई कानुनको कठघरामा ल्याउने दृढता पनि व्यक्त गरेका छन ।

हो त्यति सबै कुरा भन्दै गर्दा उनले ‘यस्ता घटना हिजो पनि भएका थिए , भोलि पनि हुनेछन’ भनेकै हुन र त्यो सत्य नै हो । किनभने अपराध पूर्ण त निषेध हुनै सक्दैन । कहीं भएका पनि छैनन । विगतमा नमिता, सुमितादेखि थुप्रै बलात्कार र हत्याकाण्डहरुको बारेमा पढेका, सुनेका अनि अहिले बाउले छोरी वलात्कार गरको, श्रीमानले श्रीमतीको हत्या गरको, छोरीले कन्ट्रयाकट किलर प्रयोग गरेर आमाको हत्या गराएको जस्ता सामान्य रुपमा असम्भव मानिएका घटनाहरु भोगिरहनु परेको छ ।

 यस्ता घटनाको बारेमा रिपोर्टहरु सुनेर सुस्केरा हाल्दै त्यस्ता अपराधमा संलग्नलाइ कडा कारवाही गर्न दैनिक आदेश गर्दै रहनु परेका गृहमन्त्रीले के ‘अव फूमन्तर भएको छ, अव न कुनै हत्या हुन्छ, न त कसैको वलात्कार’ भनेर झुट बोल्नु पर्थ्यो ?, वा झुट बोल्नु हुन्थ्यो ? किमार्थ हुदैन थियो । उनले त केवल यथार्थ बोलेका हुन कि बलात्कार, हत्या वा यस्तै कुनै पनि अपराध हिजो पनि हुन्थ्यो, भोलि पनि हुनसक्लान ।

अनि जसरी हिजो पनि अपराधीहरु ढिलो चाँडो कानुनको कठघरामा आउंथे, आज पनि आउँछन र भोलि पनि ल्याइन्छन्न । तसर्थ, सत्यतथ्यलाई तोडमोड गरेर कसैको हुर्मत लिने शैलीमा वर्तमान गृहमन्त्रीको विरुद्ध चलाइएको पछिल्ला अफवाहयुक्त प्रचारवाजीको कुनै अर्थ छैन । त्यसमा कुनै सत्यता छैन भन्ने बुझ्न आवश्यक मात्रै हैन,अनिवार्य छ । किनकि अहिलेको युगमा जनताको व्यापक चासो र खवरदारी रहेको विषयलाई गृहमन्त्री मात्रै हैन, कसैले पनि हलुका ढंगले लिनै सक्दैनन । किनकि यो जनता वलियो रहेको युग हो ।

Comments

Top