संगीतमा केही फरक त गर्नैपर्छ

basanta sapkota

  गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय संगीतकार बसन्त सापकोटा आफूलाई लोप्रोफाइलमा राख्न रुचाउँछन् । उनी कहिल्यै पनि आफूलाई माथि राखेर कुरा गर्दैनन् । सबैसँग मिलनसार र सानो भएर प्रस्तुत हुने उनको गुण रहेको उनका साथीहरूको पनि टिप्पणी गर्छन । आफ्नो कामलाई भन्दा बाहिर ध्यान नदिने संगीतकार सापकोटाका मन छुने गीतहरू छन् । उनको पछिल्लो गीत ‘बालापन’ चर्चित छ । यो गीतमा उनले १४ वर्षीया गायिका समीक्षा अधिकारीलाई गाउन लगाएर गीत संगीतको क्षेत्रमा राम्रो उदाहरण दिएका छन् । समग्र संगीतको विषयमा संगीतकार बसन्त सापकोटासँग mynewsnepal.com का लागि गरिएकाे कुराकानीको सम्पादित अंश :

० आजकाल के मा व्यस्त हुनुहुन्छ ? तपाईको युट्युब च्यानल पनि रहेछ है ?
– फिल्म र एल्वमहरूको काम गरिरहको छु । आफ्नै युट्युब च्यानललाई पनि समय दिएको छु । युट्युब च्यानललाई पनि आफ्नो अधिकार भएको गीत संगीतलाई राख्नुपर्छ । कपिराइटसहितका सबै विषयलाई हामीले बुझ्दैनौँ ।

एउटा गीतलाई जसले लैजान्छ उसैले गीतमा सम्पूर्ण अधिकार आफ्नो हो भन्ने सोच्छ । र, दिने मान्छेले पनि सब अधिकार मेरै हो भन्ने सोच्छ । जसले गर्दा कपिराइटका आरोपहरु लाग्ने गर्छन् ।

विभिन्न अनलाईन मिडिया, टेलिभिजन तथा आमसञ्चार माध्यमहरुमा विक्री वितरण गर्दा के फाइदा हुन्छ भन्ने कुरा हामी सर्जकहरूलाई पनि थाहा हुनु जरुरी छ । त्यसैले हाम्रै सिर्जनाहरूलाई हामीहरु मार्फतबाट एउटा सहमतिमा अगाडि बढ्नुपर्छ भन्ने हिसावमा जान सक्नुपर्छ ।

० तपाईले धेरै फिल्मी गीतहरुमा ध्यान दिनुभएको छ कि आधुनिक र अन्य गीतहरूमा पनि ध्यान दिनुभएको छ ?
– पछिल्लो समयमा आफ्नै काममा ध्यान दिइरहेको छु । मेरो युट्युब च्यानललाई पनि मध्यनजर गरेको छु । मेरा सिर्जनाहरूलाई मेरै च्यानलबाट हाल्ने कुरामा बढी ध्यान दिइरहेको छु । फिल्मलाई भन्दा पनि आफ्नै सिर्जनालाई मेरो विशेष ध्यान छ । फिल्ममा गीतहरू दिइयो पहिला पनि ।

सम्पूर्ण चिजहरू फिल्मलाई दिँदा एउटा प्रोड्युसरले कमायो भन्दा आफूलाई पनि खुसी हुन्थ्यो । हाम्रो सिर्जना राम्रो भयो भने अर्को सिर्जना गर्न प्रोड्युसरलाई पैसा हुन्थ्यो । र, अको सिर्जना गर्दा हामीलाई मनग्य पैसा माग्ने अवसर आउँथ्यो । तर, अहिले त्यो अवस्था छैन । प्रोड्युसरले गीत कसलाई लगेर दिनु हुन्छ त्यहि युट्युब च्यानल वालाले पैसा कमाउनु हुन्छ । तर, प्रोड्युसर घाटामै रहन्छ ।

० समीक्षा अधिकारीलाई लिएर गर्नु भएको गीत कस्तो भयो ?
– राम्रो भयो । मेरो च्यानलबाट हालेको हुँ । ‘बालापन’को गीत त धेरै चल्यो । युट्युबमा बुढासुब्बाबाट हालेको हो । धेरै गयो । ‘बनमा काफल पाक्यो’ गीत मैले हाले । मेरै च्यानलबाट हालेको १८ लाख भ्यु गइसकेको छ ।

० रोयल्टी संकलन समाज छ । त्यसले तपाईहरूलाई रोयल्टी दिन्छ कि दिँदैन ?
– रोयल्टीको विषयमा धेरै अनियमितता छ । नियमन हुनुपर्छ । रोयल्टी धेरै उठेको छ । दुई–तीन करोड रोयल्टी उठेको भन्ने सुनेको छु । यातायातबाट उठेको रोयल्टी केही पाएका छैनौं । प्रत्येक वर्ष बाँड्ने कुरा थियो ।

अघिल्लो चैतमा सुरु भएको थियो । यो चैतमा एक वर्ष भएर यता आइसक्यो । अहिलेसम्म बाँडिएको छैन । मापदण्ड पनि निर्धारण गरिएको छैन । विभिन्न पेश्की लगेका कुरा आएका छन् । अनियमितताका कुरा आएका छन् ।

० रोयल्टी संकलन समाजमा देखिएको भ्रष्टाचार र अनियमितता रोक्न तपाईहरूले पहल गर्नुभएन ?
– हामी सबै एउटा सदस्यको नाताले सकेसम्म त्यहिँभित्र जसले गलत गर्नुभएको हो उहाँहरूले गल्ती स्वीकार गरेर समाधानतर्फ जानुहुन्छ कि भन्ने आश छ ।

रजिष्ट्रारले पनि चिठ्ठी पठाएर अनियमितता भएको देखिन आएको र त्यसलाई छिटोभन्दा छिटो सम्बोधन गर्न भनिसकेको अवस्थामा उहाँहरुले सुधार गर्नैपर्छ । समाधान गर्नुभएन भने सदस्यको नाताले त्यहाँ बसेको जिम्मेवार संगीतकारको नाताले आवाज उठाउनैपर्छ ।

० पहिला भन्दा अहिलेको समयमा संगीतकार, गीतकार र गायकहरूलाई राम्रो छ भन्छन् नि ?
– पहिला पनि राम्रो थियो । अहिले झन राम्रो छ । चर्चाको हिसावले राम्रो छ । कमाइको हिसावले डिजिटल बजार भएको छ । हाम्रो सिर्जना स्रोताहरूका माझमा पुगेको छ । नाफा चाहिं बालुवामा पानी हाले जस्तो भएको छ । नाफा आएको छैन । स्रोताले गीत संगीत धेरै सुन्नु भएको छ । पहिलाको भन्दा गीत संगीत बढेर गएको छ । नेपाली गीत हिन्दी र अंग्रेजीभन्दा कम छैन । ती गीतहरू फ्रिमा सुनिरहनु भएको छ ।

० तपाईका गीतहरू आफ्नै प्रकारका मौलिक हुन् कि कतैबाट प्रभावित छन् ?
– जुन सुकै गीतहरू प्रभावित हुन सक्छन् । पूर्वेली लोकगीत बनाउँदा त्यसलाई टच गर्नै पर्छ । पश्चिमेली लोकगीत भयो भने पश्चिमको भाका टच गर्दै पर्छ । कपडा सबै ठाउँको एउटै हुन्छ । कपडा हामीले बनाउनु पर्छ । तर, चाेर्नु हुँदैन । त्यो कपडाबाट कोट बनाउनुपर्छ ।

एउटा फर्मेटअनुसार कोट बनाउने हो । कपडालाई जुन साइजको कोट बनाउने हो बनाउन पाइन्छ । कोटै चोर्न भएन । कोटको फर्मेट लिन भयो । कोट नै चोर्दा समस्या हुन्छ । गीत संगीतमा पनि त्यही हो । सबै चोर्नु भएन ।

० एउटा गीत बनाउ“दा संगीतकारले के–के विषयमा ध्यान दिनुपर्छ ?
– संगीतकारले गीत बनाउँदा पहिला शब्दमा ध्यान दिनुपर्छ । कस्तो खालको शब्द छ ? शब्द राम्रो भएपछि फिल पनि राम्रो आउँछ । त्यसलाई मेलोडी कस्तो बनाउने ? त्यसमा ध्यान दिनुपर्छ । मेलोडी बनाएपछि गाउन कसलाई दिने वा कसलाई सुट गर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

मेलोडीमा सकेसम्म मौलिकता हुनुपर्छ । मेलोडी कसैसँग नजुधोस् । शब्द कहिले काहि मिटर एउटै हुन जाँदा त्यही खालको मेलोडी आउन सक्छ । तर, आफूले जानीजानी प्रभावित भएर गर्नु हुँदैन । प्रभावित त हुनु प¥यो । तर, नियतबसै म यो बाट लिन्छु भनेर चाहिँ गर्नु हुँदैन ।

० संगीतकारले गीत बनाउँदा सूत्र हुन्छ कि ? आफू खुसी बनाउने हो ?
– सूत्रभन्दा पनि दिमागबाट आउने कुरा हो । सूत्र भनेको कुन कर्डस्मा भनेर स्कलेहरू हेरिन्छ । कहिले काहिं रागमा आधारित भएर बनाउन सकिन्छ । कहिले काहिँ यो नोटहरू लगाउँछु भनेर लगाउन पनि सकिन्छ । गीतको शब्द हेरिन्छ ।

शब्द हेरीसकेपछि त्यसलाई स्केल तथा कर्डस्को आधारमा गीत कम्पोज गर्दै जाँदा ‘डी’बाट गरौँ अथवा ‘ई’बाट गरौँ अथवा ‘एफ’, ‘जी’बाट गरौँ अथवा ‘सी’बाट गरौँ त्यो समय र मुड हेरेर पनि गरिन्छ । कम्पोज हेरेर रोमान्टिक छ भने हाई नै राम्रो सुनिन्छ ।

सेन्टिमेन्टल छ र शब्दहरूमा खेल्न पाइयो भने त्यो मेलोडीमा राम्रो सुन्न सकिन्छ । हावाको तालमा भन्दा पनि सिक्न जरुरी छ । मेलोडीको ज्ञान हुनै पर्छ । संगीतका ज्ञान नभइकन हामीले केही पनि गर्न सकिँदैन ।

० गीत कति प्रकारका हुन्छन् ?
– गीतहरू फरक–फरक प्रकारका हुन्छन् । फरक भनेको त तालमा आधारित हुन्छ । धप ताल, रुपक ताल, दादरा ताल, करवा ताल भनिन्छ । गीत तालमा आधारित हुन्छ । कुन भेगमा चल्ने खालको गीत बनाउने हो ? त्यसमा पनि आधारित हुन्छ ।

० बेलाबेला गीत, ताल, सुर चोरेको भनेर समाचार आउँछन् नि ?
– लोकगीत भन्नेवित्तिकै हामीले संकलक लेख्नुपर्छ । पहिला त यसमा सच्चाउनुपर्छ । हामीले लोकगीतमा पनि संगीतकार भनेर लेखिरहेको अवस्था छ । संकलन किन लेख्नुपर्छ भन्दा गण्डकी क्षेत्रको गीत बनाउँछौँ भने गण्डकी क्षेत्रकै भाकाहरूलाई हेरेर बनाउँछौँ ।

अरुणतिरको गीत बनाउँदा त्यताको ताल हेरेर बनाउँछौँ । चण्डी गीत भन्छौँ भने चण्डीमा ‘सोय डोलो सोय’ आउनै पर्छ । सालैजो भनेपछि सालैजो आउनै पर्छ । लोकगीतलाई संकलक भनिन्छ । कम्पोजले बिगारिरहेको अवस्था छ । आधुनिक गीतभन्दा पनि लोकगीतहरू मिलिरहेका छन् ।

एउटै खालको राग, एउटै खालको ताल र शब्द पनि एउटै मिटरको भयो भने आधुनिक गीतमा पनि कहिले काहिँ सुरुवात मिल्न सक्छ । विश्वभरि चार वारसम्म मिल्यो भने त्यसलाई लिगल मानिएको छ ।

० संगीतकार र संकलकमा के फरक छ ?
– संगीतकार भनेको पूर्णरुपमा मौलिक हुनुपर्छ । कसैले संगीत लेख्छ भने त्यो मौलिक हुनै पर्छ । संकलन भनेको त्यो कतै लोकमा गाइरहेको चिज हुन्छ । गाइरहेको चिजलाई संकलन गरेर ल्याएर आउने हो । संकलक जसले सिर्जना गरेको छ, त्यसलाई कुनै पनि चिजबाट लिएर गरेको हुन्छ । संगीतकारले संगीत भनेको नयाँ बनाउनुपर्छ । नवीन हुनुपर्छ । कसैबाट प्रभावित हुनै पर्छ । लोकगीत भनेको एउटाबाट प्रभावित चलिरहेको चिज, कुनै ठाउँमा गाइरहेको चिजलाई नै हामीले संकलन गर्ने हो । समाजको गीत जसमा कसैको पनि ओनरसिप हुँदैन । त्यो चिजलाई संकलन भनिन्छ ।

० गीतलाई कभर सङ र रिमिक्स गर्ने परम्परा राम्रो हो कि होइन ?
– रिमिक्स र कभर सङ गर्नु राम्रो हो । पुरानो सर्जकहरूलाई कभर गरेर नयाँ आफ्नै हो भन्ने चाहिँ हिसावले गर्नु नराम्रो हो । कभर गर्न त गर्ने तर, सर्जकहरूलाई कभर गर्नुपर्छ । रेशम फिरिरि गीतमा त्यहाँ बुद्धि परियार आउनुपर्छ । यसको उहाँ संकलक हो । रेशम फिरिरिलाई कभर बनाएर हुँदैन ।

० रिमिक्स र कभर सङमा के फरक छ ?
– रिमिक्स भनेको त्यही मेलोडीमा रिमिक्स गरिन्छ । सुन्दाखेरी फरक फरक भए पनि दुबै एउटै टाइपका हुन् । कभर सङमा पहिला जस्तो गाइएको थियो गायकले त्यसरी गाउनु नै कभर हो । पूरै अरु बाजाहरू हालेर वा नयाँ र अहिले चलेका कुराहरु थपेर पुन बनाइयो भने त्यसलाई रिमिक्स भनिन्छ । तर, कभर सङमा पहिलाकै मेलोडी राखेर त्यस्तै नै हिसावमा नयाँ गायकले गाइन्छ ।

० संगीतकार हुनलाई के–के ज्ञान हुनुपर्छ ? अध्ययन चाहिन्छ कि चाहिँदैन ?
– सबैभन्दा ठूलो कुरा फिल हुनु पर्यो । आमालाई बच्चा जन्माउनलाई प्रशिक्षण दिनु पर्दैन नि ! यो प्रकृतिक कुरा हो नि । आमा भएपछि छोराछोरी जन्मिन सक्छन् भने जस्तै दिमागमा सिर्जनसिल हुनु पर्यो । क्रियटिभ माइण्ड हुनु प¥यो । क्रियटिभ माइण्डले घाँस काट्दै गरेको मान्छेले पनि त्यो क्रियशन गर्न सक्ने गर्छ । यो सँगसँगै पढाइ र अध्ययन पनि चाहिन्छ । पढाइले थ्योरीकल्ली ज्ञान हुन्छ । थ्योरिकल्लीमा सुर यति वटा हुँदा रहेछन् । ताल यतिवटा हुँदा रहेछन् भन्ने कुरा थाहा हुन्छ । अर्कोकुरा कर्डस्हरू यसरी चलाउनुपर्छ । गीत गाउँदाखेरीको सुरलगायतका विषयमा पढाइले ठूलो सहयोग गर्छ ।

० नेपालमा गीतहरूमा धेरै प्रयोग हुने बाजाहरू कुन हो ?
– गीतमा बाजाहरू सबै प्रकारको प्रयोग हुन्छ । धेरै जसो मादल, गीतार, तवला, ढोलक र बाँसुरी प्रयोग हुन्छ ।

Comments

Top