आज पनि चल्न सकेन प्रतिनिधिसभा बैठक, सभामुखको प्रयास असफल

bicc

   काठमाडौं । प्रतिनिधिसभाको ३० असारदेखि अवरोध हुँदै आएको बैठक आज पनि खुल्न सकेन । आजको वैठक खुलाउने सभामुख कृष्णबहादुर महराको पछिल्लो प्रयास पनि असफल भएको छ ।

सदनको गतिरोध अन्त्यका लागि सभामुख महराले बिहीबार संसद् भवन नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठकमा समेत सहमति जुट्न नसकेपछि दिउँसो १ बजे बोलाइएको बैठक पौने ३ बजे सूचना टाँसेर स्थगित गरिएको छ ।

सभामुख महराले राजनीतिक दलबीच सहमति गरेर सदनको गतिरोध गर्ने प्रयास गरे पनि प्रतिपक्षी कांग्रेस र राजपाका सांसदले सर्लाही घटनाका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको अवरोधलाई निरन्तरता दिने अडान लिएपछि २० साउनसम्म बैठक स्थगित भएको छ ।

सभामुखले यसअघि संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायतको उपस्थिति थियो ।

बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड र सांसद डा. मीनेन्द्र रिजाल, प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव, संसदीय दलका नेता महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो ।

Comments

Top