पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु, एकै घरका ५ जना घाइते, चालकसहितकाे स्काभेटर पनि पुरियाे

bajura

  काठमाडौं । बाजुराको गौमुल गाउँपालिका–६, टाँडाकोटीमा शान्ति टोलमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदाँरा र उनकी छ वर्षीया छोरी निस्मिता चदाँराको मृत्यु भएको जनाएको छ ।

पहिरोले तीनतले घर भत्काउँदा एकै घरमा सुतेका सात जना मध्ये दुई जनाको मृत्यु भएको हो। घरभित्र च्यापिएर मृतकका सुसुरा जंगे चदाँरा गम्भीर घाइते भएका छन्। जंगेका ३८ वर्षीय छोरा सुके चदाँरा उनकी ३८ वर्षया बुहारी जडेनी चँदारा पनि घाइते छन्।

त्यस्तै १२ वर्षीया अस्मिता चदाँरा र १० वर्षीय विकास चदाँरा घाइते भएको प्रहरीले जनाएको छ । घाइते पाँच जनालाई घटमुनाको सहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ ।

पहिरोमा मृत्यु भएका आमाछोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालबाट चिकित्सकको टोली घटनास्थल पुगेको छ ।

पहिरो गएको ठाउँ जिल्ला अस्पताल बाजुराभन्दा ६ घण्टा पैदल दुरीमा भएकाले पोष्टमार्टम गर्न ल्याउन असहज हुँदा चिकित्सकको टोली नै घटनास्थल पठाएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र विश्वकर्माले बताएका छन् । अझै वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको छ ।

यसैबीच गोरखाको सिरानचोक गाँउपालिका–१ केराबारीमा चालकसहित एक्साभेटर पहिरोले पुरिएको छ । शुक्रबार बिहान सडक खन्न जाँदा जमिन भासिएर सिन्धुपाल्चोक–१३ मेलम्ची घरभएका चालक करिब ३० वर्षीय रमेश तामाङ एक्साभेटरसहित पुरिएका हुन् ।

प्रहरीका अनुसारएक्साभेटर नै चालिस मिटर तल पुगेको छ । गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीले च्यापिएको अवस्थामा चालकको हात देखेकाले प्रहरीले स्थानीयको सहयोगमा उद्घारको प्रयास गरिरहेको बतए ।

पहिरो आउने डरले नजिक जान सक्ने अवस्था नभएका कारण उद्दारमा कठिनाई भएको पनि उनले बताए ।

Comments

Top