अझै २०–२५ वर्षसम्म मलाई केही हुन्न : प्रधानमन्त्री ओली

kp sharma oli_1

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको बताएका छन्। झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा हिजो चलाइएका निराधार हल्लाहरुको प्रसंग उल्लेख गर्दै भने, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो। एउटा सिटामोल खाइदिए पछि सबै निको भयो। तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो।’

ओली अचानक अस्वस्थ भएपछि बिहीबार निर्धारित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको थियो ।

सिंगापुरमा स्वास्थ्य जाँच गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि धेरैले चासो व्यक्त गरे । तर, उनले शुक्रबार झापाका कार्यकर्तासँग भेटेका छन्, जसको तस्वीर प्रधानमन्त्रीको निजी सचिवालयले सार्वजनिक गरेको हो ।

फोटोमा अर्थमन्त्री डा.युवराज खतिवडा, झापा क्षेत्र नम्बर ५ अन्तर्गतका जनप्रतिनिधि र नेकपा कार्यकर्ता तथा उद्योगी,व्यवसायीहरु छन् ।

‘म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन’ ओलीको भनाइ उधृत गर्दै दमक नगरपालिकाका उपमेयर गीता अधिकारीले भनिन्, ‘हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ तर, बाहिर त हाँगा हालेर खबर आए ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने, ‘गत हप्ता सिंगापुरमा आँखा,कान,घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु। डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०–२५ वर्ष केही हुँदैन भन्छन्। त्यसकारण म बिरामी होइन।

मलाई विरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । विरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकीकरण गरें ।’

झापालीहरुसँगको भेटपछि ओली नेकपा केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गरिरहेका छन् । नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

Comments

Top