इराकमा १२ नेपालीलाई हत्याको अवस्थामा पुर्याउने अनिल जोशीहरूले पनि उन्मुक्ति पाउनु हुन्न

aniljoshi

 काठमाडौं।   सवाल गम्भीर छ, छातीमा लात थापेर, ज्यानको बाजी लगाएर रिपोर्ट संकलन गर्ने पत्रकारले आज किन आत्महत्याको बाटो रोज्यो ?  मर्नै परेपछि खुट्टा तानेर, पोल खोलेरै मरेको होला त पत्रकारले ?  दुनियाँलाई चासो छ । नेपालमा लगानीकर्ताको स्वार्थमा खोजमेल गर्ने र मिसन सञ्चालन गर्ने धन्दा छ । देखे/भोगेको सत्य कहाँ लेख्न र बोल्न सकिन्छ त ? तलबका लागि गरिने पत्रकारितामा सत्य प्रकट हुँदैन । स्वार्थको नियोजित र प्रायोजित सामग्रीले जनताको दिमागलाई प्रदूषित गर्दैछ । नबोली मरेको भए आज दुनियाँ गुमराहमा पर्ने थिएन होला । जनकवि गोकुल जोशीले एकपटक भनेका थिए–

भोकभोकै मर्न लागे कवि–कलाकार 
तड्पाएर नमारिदेऊ, झुन्ड्याएर मार

गोकुल बाँस्कोटाले न्यूनतम तलब नपाएर पिल्सिएका पत्रकारको निम्ति २४ हजारो सीमा तोकिदिए तर शालिकरामले रातदिन काम गर्दा पनि ठूला व्यापारिक घरानाबाट करोडौं फुत्काउनेहरुबाट रु १८ हजारसमेत पाएनन् ।

 र, दुनियाँलाई सुसूचित पार्दै मालिकलाई करोडौं असुलीको बाटो खोलिदिने एक श्रमजीवी पत्रकार परिवार पाल्न नसकेर बाबुआमा र श्रीमतीसँग माफी माग्दै जीवनदेखि पलायन भयो । श्रमजीवी पत्रकारलाई झुण्डिएर मर्न बाध्य पार्नेहरू कठघरामा उभिन जरुरी छैन ।

 सीधा कुराको नारा लगाएर बांगो नियत राख्नेहरूको शिकार बनेकै हुन् त शालिकराम ?  त्यो टिमबाट निस्कने शालिकराम सुशील अर्यालपछिका अर्का हुन्, मिसनको धन्दा र फण्डाबारे पोल खुल्ने भयमा छट्पटिनेहरूले लुटको स्वर्ग बचाउन अनेकौं हत्कण्डा नअपनाउलान् भन्न सकिन्न ।

 मरेको मान्छेले न्याय पाएको छैन । मर्ने त मरी गो, बाँच्नेलाई किन सास्ती ?  शालिक मर्नुभन्दा काल पल्कनु खतरा हो । आज चिच्याउनेहरु लोकप्रिय हुने र तिनको दबाबमा परेर दुनियाँ भ्रमित हुनुपर्ने अवस्था छ ।

लाइसेन्सबिनाका तथाकथितसँग आस र त्रास पालेर किन बाँच्छ नागरिक समाज ?  यो प्रश्नको जवाफ खोज्नु पर्दैन सरकार ?  व्यक्तिगत रिसइबी साँध्न सञ्चारमाध्यमलाई प्रयोग गर्ने, बिनाकारण निहुँ खोज्ने, पावर र  पहुंचका आधारमा आइजीदेखि प्रचण्डसँग समेत रिसइबी साँध्ने माध्यम बनेको छ सञ्चारमाध्यम ? दुनियाँ तर्साउने र असुल्ने अर्थात् एकप्रकारले लुटपाट गर्नेलाई लुटेको धनले पक्कै पोल्छ एक दिन त भन्ने कामना गरेर बस्ने कि केही सार्थक पहल पनि गर्ने ? 

 पत्रकारिताको आडमा धनकुबेरहरूको सम्पत्ति राष्ट्रियकरण गरौं न गोकुल कामरेड, दुईतिहाइले त्यसो गर्न किन सक्दैन ? शालिकरामले सीधा कुरा छाडेर मिसन न्युज रोज्नु माउन्टेन र मालिकहरूको स्वार्थको रणसंग्राम हो भने इराकमा १२ जना नेपालीलाई मर्न आफ्नो म्यानपावरमार्फत पठाउने अनिल जोशीहरूले पनि उन्मुक्ति पाउनु हुन्न । टिभी चलाएर दुनियाँ थर्काउन पाइन्छ रु सञ्चारमाध्यम र गरिबका छोराहरूलाई हतियार बनाएर डनगिरी गर्न पाइन्छ ? 

आज समाज नै एकप्रकारको फ्रस्टेसन र डिप्रेशनको शिकार किन बन्दै छ, २४ घण्टा रेडियो, टिभी, पत्रपत्रिका, सामाजिक सञ्जाल आशावादी जीवन र रचनात्मकताभन्दा नकारात्मकता, निराशा, कुण्ठा किन बाँँडिरहेछन् दुनियाँलाई ?  किन बढ्छ डिप्रेसन मान्छेमा ?  यसको मेडिकल विज्ञान मात्र होइन समाज विज्ञानभित्र पनि सूक्ष्म अध्ययन जरुरी छ ।

 मर्नेहरू अपराधी र बाँच्नेहरूचाहिँ देवता हुन् भन्ने तर्क नगरियोस्, निष्पक्ष छानबिन र अनुसन्धान होस् यावत् सवालको । हुन त महाकवि देवकोटालाई पागल भनेर राँची पु-याउने देश हो यो नेपाल । शालिकलाई डिप्रेसन थियो त्यही भएर मरेको हो भन्दै हल्ला चलाउनेहरुले बुझ्न जरुरी छ । किन भयो डिप्रेसन रु पागल भन्दै राँची लगिएका बेला देवकोटाले लेखेका थिए ।

जरुर साथी म पागल
यस्तै छ मेरो हाल
म शब्दहरूलाई देख्दछु 
दृश्यहरू सुन्दछु
वास्नालाई स्वाद लिन्छु 
ती कुरा जसको अस्तित्व लोक मान्दै छ 
जसको आकार संसार जान्दैन ।।

(जनाआस्था न्यूजबाट साभार)

Comments

Top