पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेलाई फेरि ५ दिन थुनामा राख्न अनुमति

ravi_1

  काठमाडौं । चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछालाई पुनः ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । 

अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । 

यस अघि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि भन्दै बिहीबारबाट लागू हुनेगरी ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

पाँच दिनको म्याद आज सकिएपछि चितवन जिल्ला अदालतले आज फेरि ५ दिनको म्याद थप दिएको छ । लामिछाने मुलुकी फौजदारी संहिता अन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका थिए। पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा लामिछानेको नाम समेत लिएका थिए।

बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार बिहान चितवन लगिएको थियो। प्रहरीले अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत पुर्‍याएको थियो।

उनीसँगै पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो। 

चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

 

Comments

Top