राज्यको व्यवस्था नै उल्ट्याउन दक्षिणपन्थी र उग्रवामपन्थीबाट प्रहार भइरहेको सर्वदलिय बैठकको ठहर

baluwatar

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले  बालुवाटारमा आह्वान गरेको सर्वदलीय  बैठकमा बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव समूहको गतिविधिबारे गम्भिर छलफल भएको छ । मंगलबार साँझ भएको बैठकमा देशलाई अस्थिरतर्फ लैजान पूर्वराजा र विप्लव समूहले चलखेल गरेको हुँदा  त्यसप्रति सचेत हुनुपर्ने भन्दै नेताहरुले चिन्ता जनाएका छन् ।

 बैठकमा राज्यलाई कमजोर पार्ने तथा व्यवस्था नै उल्ट्याउने गरी दक्षिणपन्थी र उग्रवामपन्थीबाट प्रहार भइरहेकाले यसप्रति सरकार र सबै दल सचेत हुनुपर्ने कुरा उठेको थियो।
संसदमा रहेका राष्ट्रिय दलहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपाका नेताहरु सहभागी भएका थिए  । 

 बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्बाङ, गृहमन्त्रीसमेत रहेका नेकपा नेता रामबहादुर थापा ‘बादल’, प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजाल सहभागी थिए ।

 यस्तै उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर, राजकिशोर यादवलगायत पनि बैठकमा छन् ।
पार्टीका विभाग प्रमुख चयनमा असन्तुष्टि जनाउँदै आएका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले बैठक बहिष्कार गरेका छन् ।

Comments

Top