‘राजा आउ देश बचाउ’ को नारा लगाउँदै रविका समर्थकहरु तोडफोडमा उत्रिए

chitwan-jhadap

 चितवन ।  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच  चितवन प्रहरी कार्यालय अगाडि झडप  हुँदा चार प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।  प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

 प्रहरीले १० प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।  प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

 लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा  प्रदर्शन गरे । प्रदर्शनका क्रममा केहीले राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए। रवीलाई छुटाउन दवाब दिने उद्देश्यले आयोजना गरिएको आन्दोलनमा राजा आउ देश बचाउ जस्ता नारा लाग्न थालेपछि दरवारिया तत्वको घुसपेठ भएको अनुमान गरिएको छ। 

रवी का समर्थकले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत चितवन अगाडि गरेको प्रदर्शनले व्यक्तिको विरोध र आलोचना मात्र नभएर व्यवस्थाप्रतिकै प्रहारको रुपमा मुख्य राजनीतिक दलहरुले लिन थालेका छन् ।

 रवीका समर्थकहरुले ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाउँदै वर्तमान सरकारका मन्त्री र राजनीतिक दलका शीर्ष नेतामाथि प्रहार गरेका छन् । राजनीतिक दल, नेता र सांसदलाई गालि गर्ने रवीका समर्थकले राजाको पक्षमा नारा लगाउनुले रवीको नाममा वर्तमान व्यवस्था र कानूनलाई नै असफल बनाउने प्रयासको रुपमा लिइएको छ । 

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी दलको रुपमा स्थापित कमल थापा नेतृत्वको राप्रपामा उनै रवी लामिछानेका ससुरा कोषाध्यक्ष छन् । कतै रवीको सम्वन्ध कमल थापासँग एउटै पार्टी समितिमा बसेका नयाँ ससुरा उद्धव पौडेलसँग नहोला भन्न सकिन्न । आफ्नी श्रीमतीसँग सम्वन्ध विच्छेद गरेर उद्धव पौडेलकी छोरी निकितासँग लगनगाँठो गाँसेका रवी उनै कमल थापासँगको साइनोमा तानिएर सरकार र राज्य व्यवस्थालाई नै चुनौति दिइरहेका त छैनन् भन्ने आशंका गर्न सकिन्छ । 

 पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । साउन २० गते पुडासैनी  कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको छ । 

आज अस्मिता कार्की ‘रुकु’को मात्र अदालतमा बयान सकिएको छ भने भोली लामिछाने र कँडेलको बयान सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरु धरौटिमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने निर्णय हुनेछ ।

यसअघि प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय चितवनमा राय पेश गरेको थियो ।

Comments

Top