खत्री गोलीकाण्डमा कहाँ चुके एसएसपी अमात्य ?

काठमाडौं । ललितपुरको कुसुन्तीमा लागूऔषध कारोबार र दुव्र्यसनीको आरोप लागेका प्रविण खत्री प्रहरी इन्काउन्टरमा मारिएको घटना झन रहस्यमय बन्न थालेको छ । खत्रीको परिवारले सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको भन्दै मंगलबार उजुरी दिएपछि घटना नयाँ मोडमा पुगेको छ ।

  प्रविणका बाबु प्रमोदले सत्यतथ्य छानविनको माग गर्दै ललितपुर प्रहरी परिसरमा उजुरी दिएका छन् । एक सामान्य लागूऔषध दुव्र्यसनीलाई प्रहरीले घरकै छेउमा गोली हानेको घटनालाई लिएर व्यापक आलोचना भएको छ । गुण्डा नाइकेहरु कुमार श्रेष्ठ ‘घैंटे’ र दिनेश अधिकारी ‘चरी’ सँग तुलना गरी खत्रीलाई मिडियामा प्रचार गरिएको विषयलाई पनि परिवारले असन्तुष्टि जनाउँदै खत्री कुनै डन र लागूऔषधको डिलर नभएको जिकिर गरेको छ । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

  गुण्डा नाइकेद्धय घैंटे र चरीको ठूलो आपराधिक सञ्जाल रहेको र हतियार देखाउँदै उनीहरुले धेरैसँग रकम असुली गरेका थिए । जसका कारण राज्यले समेत उनीहरुलाई साथ दिएन । उनीहरु संगठित गुण्डागर्दीमा पनि संलग्न थिए । तर, सोमबार मारिएका खत्री लागूऔषध दुव्र्यसनी मात्र थिए । सामान्य अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले त्यसरी गोली हानेपछि त्यसको सर्वत्र बिरोध भएको हो । खत्रीजस्ता दुव्र्यसनीलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउनु पर्नेमा महानगरिय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले सिधै कानुनको उल्लंघन गरी हत्या गराएको भन्दै उनको आलोचना भएको छ ।

  काम गर्न नसकेर सरुवाको मुखमा पुगेका एसएसपी अमात्यले यो घटनापछि आफूलाई सक्षम त ठान्लान तर, सँगसँगै उनी फस्ने खतरा पनि बढेको एक प्रहरी अधिकारी बताउँछन् । किनकी उनको भनाई र अन्य प्रहरी अधिकारीको भनाइमा मेल नखाएपछि हेडक्वार्टर र गृहमन्त्रालयले यसलाई गम्भिर रुपमा लिइसकेको छ । यदि दुईवटा हतियार खत्रीले बोकेको भएपनि उनले भोग्ने कानुनी सजाय खुला थियो । सुरुमा प्रहरीले आफ्नो बहादुरी देखाउन प्रहरीलाई गोली हानेर भाग्ने क्रममा प्रहरीको गोलीबाट उनको मृत्यु भएको बताएपनि पछि खत्री आफैंले कंचटमा गोली हानेको भनेर प्रहरीले बोली फेरेको थियो ।

  एसएसपी अमात्यले आफैले चलाएको गोलीबाट खत्रीको मृत्यु भएको हो वा प्रहरीको फायरिङका क्रममा मृत्यु भएको अनुसन्धानपछि खुल्ने बताएपछि प्रहरीसँग कति गोली थियो भन्ने बारेमा पनि जानकार नराखेको भन्दै उनको झन आलोचना भएको छ । प्रविणसँग दुईवटा पेस्तोल फेला परेको प्रहरीले दाबी गरेपनि उनका बाबुले भने प्रहरी दाबी झूटो भएको बताएका छन् ।

  प्रविणका बाबुले घटनाका बेला प्रविणसँग हतियार नभएको र उनलाई प्रहरीले नै कन्चटमा गोली हानी मारेको उजुरीमा उल्लेख गरेका छन् । खत्री ढलेकै ठाउँमा गोलीको खोका भेटिनु र घटनास्थलमा खत्री ढलेको तस्विर बाहिर सार्वजनिक भएपछि पनि उनलाई उपचारका लागि तत्काल अस्पताल नलैजानुलाई रहस्यम मानिएको हो । प्रहरीले खत्रीलाई लागुपदार्थका कारोबारी रहेको दावी गरेपनि उनको घरमा प्रहरीले छापा मार्दा लागुपदार्थ फेला प¥यो या परेन भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन । प्रहरीकै बोली बाझिएपछि प्रहरीमाथि शंका नगर्न आग्रह गर्दै एसएसपी अमात्य पोस्टमार्टम रिपोर्टले सत्यतथ्य खुल्ने भन्दै चोखिन खोजेको खत्री परिवारको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित