सहयोगका नाममा प्रदेशमा चिनियाँ चासो

nepal-china

 रुपन्देही । प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ। यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो। महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरू बताउँछन्।

प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ। प्रदेश ५ का शंकर  पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनको विभिन्न प्रान्तको भ्रमण गरे। सोही सिलसिलामा प्रदेश ५ र चीनको सिंचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ।

यो सम्झौताले दुवै प्रदेशबीच लगानीका क्षेत्र पहिचान गरेर विकासमा साझेदारी गर्ने बाटो खुला गरिदिएको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा निस्कदै छ। यसका साथै प्रदेश ५ का विभिन्न स्थानीय तहबाट पनि चीनका विभिन्न प्रान्तका समकालीन नगरपालिकाको भ्रमण धमाधम भइरहेको छ। विशेषगरी प्रदेश ५ मा बुद्धजन्मस्थल र बृहत् लुम्बिनी क्षेत्र रहेकाले धार्मिक आस्थाका आधारमा पनि चिनियाँ आशक्त देखिएका हुन।

चीनको विश्वविद्यालयमै अध्ययन गरेर फर्केका डा। सागर न्यौपानले प्रदेश र स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गराउने सूत्राधारका रूपमा काम गरेका छन्। उनले भाषा र चिनियाँको मनोविज्ञानबारे सहजीकरण गरेकाले प्रदेश सरकारसँग सहकार्य गर्ने क्रम बढेको हो। (नागरिक दैनिक )

Comments

Top