सिंगापुरमा ठूला नेता र व्यापारीहरू

singapur

 काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली यसै साता स्वदेश फर्कने कार्यक्रम छ । मृगौलाको सफल उपचारपछि २० गते स्वदेश फर्किने मिति सार्वजनिक भएपछि नेकपाका नेताहरू स्वास्थ्य लाभको कामना गर्न सिंगापुर नै पुगेका छन् । नेताहरूले स्वास्थ्य लाभको कामना गर्नु त ठीकै हो ।

 तर, लाखौँ रकम खर्च गरेर सिंगापुर भेट्न जानुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् । ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य बामदेव गौतमलगायत सिंगापुर गइसकेका छन् ।
उनीहरूले ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । उनीहरू सिंगापुर जानुको आफ्नै स्वार्थ रहेको चर्चा भएको छ ।

 विशेषतः बामदेव गौतमले कास्कीबाट उपनिर्वाचनमा उम्मेदवारी दिने विषयमा ओलीलाई सहमत गराउन सिंगापुर गएको चर्चा छ । यद्यपी ओलीले गौतमको खोजी गरेपछि उनी बुधबार सिंगापुर प्रस्थान गरेको बताइएको छ । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले सिंगापुरमा ओलीलाई भेट्न गएको विषय रुचाएका छैनन् । उनीले ओलीलाई भेट्ने जानेहरूको आलोचना गरेका छन् ।

 ओलीलाई शुभकामना दिन जानेमा ठूला व्यापारीहरू एनसेलका सतिशलाला आचार्य, सुरज बैद्य, चन्द्र ढकाललगायत छन् । उनीहरू सबैले ओलीलाई भेटेको स्रोतले जनाएको छ । उनीहरू सबै ओलीलाई चाकडी गर्न गएको नेकपाकै नेताहरूले आरोप लगाएका छन् । एनआरएनएका अध्यक्ष भवन भट्ट ओलीलाई भेट्न जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्सी सेवन गरेर बबण्डर मच्चाएपछि गलहत्याइएका थिए । उनीसँगै सञ्चारकर्मी सनत न्यौपाने पनि रक्सी खाएर अभद्र कार्य गर्दा गलहत्याइएर विमानस्थलबाट निकालिएको थियो ।

 यता, पार्टी एकीकरण भएको चौध महिनापछि पुष्पकमल दाहाल कार्यकारी अध्यक्षको भूमिकामा देखिएसँग सर्कुलर जारी गरेर एकाएक चर्चामा आएका छन् । प्रधानमन्त्री ओलीले सिंगापुरमा रहेका बेला दाहालको सर्कुलर काण्डले पार्टीभित्र हँगामा नै मच्चाएको छ । भदौ ९ गते सचिवालयको बैठक बोलाएर बिभिन्न निर्णय गरेका दाहालले भदौ १३ गते निर्णयबारे मातहत कमिटीलाई निर्देशन दिन आफ्नो एकल हस्ताक्षरमा अन्तरपार्टी निर्देशन जारी गरेका थिए ।

 यसअघि प्रधानमन्त्री ओली र दाहालको संयुक्त हस्ताक्षरमा सर्कुलर जारी हुने गरेका थिए ।
उता, नेकपाले पार्टीभित्र अनुशासनलाई कडाइपूर्वक लागू गर्ने सचिवालयको निर्णयसँग अध्यक्षहरू र महासचिवको भूमिका बढाउने गरी अन्तरपार्टी निर्देशिका जारी हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले विधानमा भएको कुरा अन्तरपार्टी निर्देशनमा लेखिरहनु जरुरी नभएको बताएका छन् ।

Comments

Top