अमेरिकामा भएको दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु, दुई जना घाइते

america accident

  काठमाडौं । अमेरिकामा भएको सडक दुर्घटनामा परी तीन नेपाली नागरिकको मृत्यु भएको छ । अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीमा दुईवटा जिप ठोक्किएर भएको दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मंगलबार दिउँसो भएको दुर्घटनामा मिजोरी राज्यको ब्ल्य स्पिरिङमा बस्दै आएका शारदा ओझा खनालसहित उनकी आमा शान्ता खनाल र बुवा गोविन्द खनालको निधन भएको हो ।

शारदाका श्रीमान् प्रभाश ओझाले चलाएको टोयटा र्याभ ४ जिप, प्रिगमोर एभिन्यु नजिकैको इन्टरस्टेट ४४ को तेस्रो लेनमा अर्को टोयटा पिकअपसँग ठोक्किएर दुर्घटना भएको भएको स्थानीय समाचार माध्यममा उल्लेख छ ।

अघिल्लो सिटमा बसेकी शारदा र पछाडिको सिटमा बसेकी उनकी आमालाई घाइते अवस्था अस्पताल लगिए पनि, त्यहाँ उनीहरुलाई मृत घोषणा गरिएको थियो । गोविन्द खनालको भने घटनास्थलमै निधन भएको प्रहरीको भनाई छ ।

पेशाले सफ्टवेयर इन्जिनियर रहेका चालक ओझा र उनका चार वर्षीय छोरा घाइते भएको र हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नाबालक छोराको स्थिति भने गम्भीर रहेको बताइएको छ ।

Comments

Top