ओलीले काठमाडौं र मोदीले दिल्लीबाट एकैसाथ गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

oli and modi

    काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र नरेन्द्र मोदीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौंबाट र प्रधानमन्त्री मोदीले दिल्लीबाट संयुक्त रूपमा बटम थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् ।

उद्घाटनलगत्तै बरौनी डिपोबाट अमलेखगञ्जमा आएको डिजेल भारतीय आयल निगमका पदाधिकारीले नेपाल आयल निगमका निर्देशक सुरेन्द्र पौडेललाई उपहारस्वरुप हस्तान्तरण गरेको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए ।

डिजेल हस्तान्तरण पछि नेपाल र भारतका प्रधानमन्त्रीले क्रमशः ५÷५ मिनेट मन्तव्य राखेका थिए । भारत सरकारको २ सय ७५ करोड लगानीमा सम्पन्न सो पेट्रोलियम पाइपलाइन आयोजना नेपाल सरकारको पहिलो प्राथमिकताको आयोजना हो ।

सुरुमा दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत स्वीच थिचेपछि बरौनीमा तेलको पाइप ‘अन’ भयो । त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेर भारतबाट पठाइएको तेल स्वीकार गरेका थिए ।

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुलेसँगै पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु भएको छ । दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गरेका हुन् ।

२०६१ मा नेपाल र भारत सरकारबीच सम्झौता भएर २३ फागुन २०७४ मा निर्माणा कार्य शुरू भएको सो आयोजना निर्धारित समयभन्दा ८ महिना अगाडि सम्पन्न भएको हो ।

पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ ७० किलोमिटरमध्ये भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर छ । उद्घाटनलगत्तै पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ ।

पाइपलाइन आयोजनाकै लागि निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्कीसमेत निर्माण गरिएको छ ।

पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक २ अर्ब बचत हुने र यसबाट वातावरण प्रदूषण, वन विनाश, राजमार्गमा हुने दुर्घटना, ट्राफिक जाम, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने निगमको भनाई छ ।

Comments

Top