सरकार सक्रिय रूपमा जनताको काम गर्न कटिबद्ध छ : अध्यक्ष प्रचण्ड

prachanda

 इलाम । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था सुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गरे ।
अध्यक्ष दाहालले गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेभन्दै नेता केन्द्रित र गुट केन्द्रितले आफैलाई सक्ने भएकाले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्नेबताए ।

दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको दाबी गरे । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए । उनले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए ।

Comments

Top