देउवालाई चिनियाँ राष्ट्रपतिको निम्तो, चिनियाँ लगानी स्वागत गर्ने देउवाको भनाई

sher bahadur deuba

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ लगानीको आफूहरूले स्वागत गर्ने बताएका छन् ।

२ दिने राजकीय भ्रमण्मा रहेका चीनका राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेटमा सभापति देउवाले नेपालको हित र समृद्धिमा सहयोग पुग्ने परियोजनाहरूमा आफूहरुले साथ दिने बताएका हुन् ।

उनले भेटमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई आफूहरूको समर्थन रहेको धारणासमेत राखेको बताए ।

चिनियाँ राष्ट्रपति सीले काठमाडौं उत्रेपछि प्रमुख विपक्षी दल कांग्रेसका सभापति देउवालाई छुट्टै भेटेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटपछि सीले उनलाई सोल्टी होटलमै २० मिनेट भेटेका हुन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार राष्ट्रपति सीले एक चीन नीतिको पक्षमा कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

भेटपछि राष्ट्रपति सीले पार्टीगत सम्बन्ध झन् राम्रो बनाउने बताउँदै देउवालाई चीन भ्रमणको निम्तो दिएका थिए ।

Comments

Top