विमानस्थलमा तोडफोड गर्ने राजपा सांसद प्रमोद साह पक्राउ

pramod shah

  काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) का सांसद प्रमोद साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले साहलाई विमानस्थलमा तोडफोड गरेको आरोपमा आज पक्राउ गरेको हो । सांसद साह सर्लाही १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका साहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार नियन्त्रणमा लिएको हो ।

मंगलबार प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिअन्तर्गत अनुगमन उपसमितिको टोलीमा सहभागी भइ ओखलढुंगा जान लाग्दा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विमानस्थलको रन वेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र बिरामी यात्रुबारे जानकारी गराउँदा विमानस्थल र एयरलाइन्सका कर्मचारीले वास्ता नगरेको भन्दै सांसद साहले लात हानेर बुद्ध एयरको काउन्टरको सिसा फुटाइदिएका थिए ।

मुटुको समस्या भएर उपचारका लागि जनकपुरबाट काठमाडौं आउन लागेका जनकपुरका शौखिलाल चौधरीको समस्याबारे एयरलाइन्सलाई जानकारी गराउँदा कर्मचारीले कुनै वास्ता नगरेपछि तोडफोड गर्नुपरेको सांसद साहले बताएका छन् ।

तीन घण्टासम्म विमान ढिलो हुँदा बिरामीलाई खानेपानी समेत उपलब्ध नगराएको र पटक–पटक विमान बारे जानकारी माग्दा वेवास्ता गरेको साहको भनाइ छ ।

Comments

Top