शाहको साथबाट बरामद भएको भनिएको हतियार प्रहरीकै हाे : तरूण दल

tarun dal

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले नेपालगञ्जका सन्दीपजंग शाहको साथबाट बरामद भएको भनिएको हतियार प्रहरीकै भएको दाबी गर्दै तत्काल फिंगर प्रिन्ट जाँच गर्न माग गरेको छ ।

नेपालगञ्जमा बिहीबार राति भएको घटनामा प्रहरीले गलत मनसाय राखेको समेत तरुण दलको भनाई छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज एक विज्ञप्ति निकाल्दै तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई प्रहरीले फसाएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ–‘प्रहरीद्वारा आफैंले लगेको हतियार तरूण नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनी झुठा बहाना बनाइ फसाउने र सामाजिक आतंक सिर्जना गर्ने लोकतन्त्रवादी तरूणहरूलाई दुःख दिने कुत्सित मनसाय एंव दूरासययुक्त नियतले पक्राउ गरिएका शाहलगायतलाई तत्काल रिहा गर्न, घटनास्थलमा पुगी निर्दोष तरूण नेताहरूलाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दैछ ।’


बिहीबार राति प्रहरीले नेपालगञ्ज २० स्थित नमस्ते भिलेज रिसोर्टबाट नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी शाहसहित दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई बिहीबार राति साढे आठ बजे पक्राउ गरेको थियो ।

प्रहरीले शाहको गाडीमा मेड इन युएसए लेखिएको पेस्तोल दुई राउन्ड गोलीसहित बरामद् भएको जनाएको छ।

Comments

Top