प्रदेश प्रमुखमा आफ्नो मान्छे नपरेपछि नेपालको ‘नोट अफ डिसेन्ट’ : प्रचण्ड

prachanda_2

   काठमाडौं । सरकारले सोमबार सातै वटा प्रदेशका प्रमुख नियुक्ति गर्यो । प्रदेश प्रमुखहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

प्रदेश प्रमुखको नियुक्तिको विषयमा सत्तारुढ दलभित्रै विवाद देखिएको अहिले आएर खुलेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेपछि विवाद छरपष्ट भएको हो ।

सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए।

यद्यपी पार्टी कार्यक्रममा सहभागी हुन आज बाँके पुगेका
अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले भने वरिष्ठ नेता नेपालले सचिवालय बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक भएको बताएका छन्।

सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको उनको भनाई थियो ।

अध्यक्ष दाहालले भने–‘माधवजीले एक–दुई जनाको नाम पारौं भन्ने जोड दिनुभएको थियो। बैठकले त्यो निर्णय गरेन। उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो ।’

नयाँ नियुक्त प्रदेश प्रमुखलाई नेता नेपालले मान्दिनँ नभनेको उल्लेख उनले भने–‘उहाँले म मान्दिनँ भन्नुभएको छैन, मेरो भिन्न मत राख्छु भन्नुभएको छ।’

सरकार परिवर्तनपछि प्रदेश प्रमुख नियुक्ति हुनु स्वभाविक नै भएको बताउँदै उनले भने–‘प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधिको रूपमा काम गर्ने हो । सरकार परिवर्तन भएपछि प्रदेश प्रमुख फेरिन्छ। हाम्रो सरकार उदार भएकोले दुई वर्षसम्म काम गर्न दिएको हो।’

Comments

Top