सरकारमा बसेर ‘रअ’सँग मिलेपछि

upendra

 काठमाडौं । डा.बाबुराम भट्टराईको प्रवेशसँगै उपेन्द्र यादवको पार्टीमा दुःखका दिन शुरु भएका छन् । पछिल्लो समय उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवसँग प्रधानमन्त्री ओली निकै नै रिसाएका छन् ।

 ओलीले मन्त्री यादवसँग भेट्न पनि चाहेका छैनन् । यति मात्रै होइन ओलीले यादवलाई सरकार छाड्न सल्लाह दिएका छन् । ‘सरकारमा रहेर, सरकारकै विरोध गर्ने ?’ भन्दै समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री यादवसँग प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् । यादवले विभागीय जिम्मेवारी पूरा नगरेको, कर्मचारी समायोजन नटुंग्याएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा नयाँ नीति ल्याउन नसकेका जस्ता विषयले प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् ।

 ‘उपेन्द्रजीको काम कारबाहीबाट प्रधानमन्त्री असन्तुष्ट रहँदै आउनुभएको थियो, पटक–पटक सच्चिन भने पनि उहाँले त्यसका लागि कुनै काम गर्नु भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अझ सरकारकै आलोचनामा समय खर्चिन थालेपछि प्रधानमन्त्री थप रुष्ट हुनुहुन्छ ।’स्रोतका अनुसार मन्त्रीमण्डलमा बसेर सरकारको आलोचना गर्नुभन्दा ‘विकल्प खोज्न’ प्रधानमन्त्री ओलीले यादवलाई निर्देशन दिइसकेका छन् । त्यसबारे यादवले पनि आफूनिकटसँग प्रधानमन्त्री ओलीका भनाइबारे छलफल शुरु गरिसकेका छन् । ‘सिधै सरकार छाडेर जानुहोस् भन्नु त भएको छैन तर, त्यतातिर संकेत भने गरिसक्नुभएको छ’, सम्बद्ध स्रोतले भन्यो ।

 स्रोतका अनुसार सरकारमा बसेर यादव भारतीय गुप्तचर संस्था ‘रअ’ अनुसार चल्न खोजेका हुन् कि भन्ने आशंका पनि प्रधानमन्त्री ओलीको छ । त्यही कारण पनि ओलीले यादवलाई सरकारबाट हटाउन चाहेको चर्चा छ । ओलीले हटाउनु अगाडि नै यादवले सरकार छाडेर मधेसका नाममा राजनीति गर्ने योजना बनाएको स्रोत बताउँछ । उनले संविधन संशोधन हुन नसकेपछि सरकार छाडेको भनेर मधेसमा भ्रमको राजनीति गर्ने योजना बनाएको स्रोतले जनाएको छ ।

 विदेश भ्रमणमा मोह राख्ने तर, मन्त्रिमण्डल बैठक छल्न खोज्नेमात्रै होइन, आधारभूत स्वास्थ्यसम्बन्धी नयाँ नीति ल्याउन निर्देशन दिँदा पनि यादवले ल्याउन नसकेकोमा प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोतको भनाई छ । सोही पार्टीका अर्का मन्त्री अर्थात् सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भने प्रभावकारी काम गरिरहेको प्रधानमन्त्री ओलीको विश्लेषण छ । यादवले सरकारलाई सफल बनाउन कुनै काम नगरेको प्रधानमन्त्री ओलीको बुझाई रहेको स्रोतको दाबी छ ।

 उता, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेपछि उपप्रधानमन्त्री यादव ‘सरकारको नियन्त्रण बाहिर गएको’ प्रधानमन्त्रीको थप बुझाइ रहेको छ । ‘औचित्य र आवश्यकताका आधारमा संविधान संशोेधन’ गर्ने पटक–पटक प्रतिबद्धता जनाए पनि समाजवादीले त्यसलाई ‘बार्गेनिङ टुल्स’ बनाउन खोजेकोमा पनि प्रधानमन्त्री ओली थप असन्तुष्ट छन् । नेकपा गठबन्धन सरकारमा रहे पनि समाजवादी पार्टी भने उपनिर्वाचनमा प्रमुख प्रतिपक्ष कांग्रेससँग गठबन्धन गरेर निर्वाचन लड्न खोजेको संकेत पाएका प्रधानमन्त्री ओलीलाई थप आक्रोश बनाउने विषय बनेको उनीनिकट स्रोतको भनाई छ ।

 ‘गठबन्धनको सरकारमा छौं तर उपेन्द्रजी भने धरान उपमहानगरलगायतमा कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्न खोज्दै हुनुहुन्छ’, स्रोतले भन्यो । गठबन्धन राजनीतिमा नैतिकता प्रदर्शन गर्न नसकेको पनि बालुवाटारको अर्को बुझाइ छ । त्यसमाथि, समाजवादी पार्टीका अर्का अध्यक्ष भट्टराईले सार्वजनिक मञ्चबाट सरकारको आलोचना गर्दा यादवले नियन्त्रण गर्न नखोजेको, संविधान संशोधन नभएमा छठलगत्तै सरकार छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको, पहिचानवादीको नाममा पुनः मुलुकलाई अराजक दिशातर्फ लैजान खोजेको बुझाइ नेकपाभित्र बढेको छ ।

 प्रधानमन्त्री ओली आफूसँग असन्तुष्ट भएको संकेत पाएपछि सरकारमा बस्ने वा नबस्ने भन्ने निर्णय केन्द्रीय समितिले गर्ने यादवले सार्वजनिक गरिसकेका छन् । ‘सरकारमा बस्ने वा नबस्ने निर्णय केन्द्रीय समितिले गर्नेछ, अरूले बोलेर हुन्न’, यादवले सार्वजनिक रूपमै भनिसकेका छन् ।

 नयाँ शक्तिसँग एकीकरण गरेर नयाँ पार्टी समाजवादी गठन गरेको परिस्थिति र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण प्रक्रिया अघि बढिरहेको सन्दर्भमा कात्तिक ३०–३१ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । गत वर्ष पुस २२ गते सरकारमा सहभागी हुने बेला गरिएको ११ बुँदे समझदारीपत्रबारे समाजवादी पार्टीले ध्यानाकर्षण गराएको थियो । (यूनाइटेड पोस्ट साप्ताहिक )

Comments

Top