भरतपुरमा रेनुलाई जिताएर हामीले गम्भीर गल्ती गर्यौ : गगन थापा

gagant

 चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले आफूहरुले चितवनमा गम्भीर गल्ती गरेको भन्दै माफी मागेका छन् । गत स्थानीय तहको निर्वाचनमा आफूहरुले रेनु दाहाललाई भोट हाल्न लगाएर गम्भीर गल्ती गरेको थापाले बताएका हुन् ।

 चितवनको भरतपुर १६ मा आज आयोजित नेपाली काँग्रेस वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता थापाले आफूहरुले हँसिया हथौडामा भोट हाल्न लगाउँदा तत्कालिन माओवादी र एमालेलाई फाइदा पुगेको बताए । उनीहरु छुट्टाछुट्टै चुनावमा भाग लिँदा नेपाली काँग्रेसले जित्ने डरले सत्ता भोग गर्नका लागि पार्टी एकीकरण गरेर अगाडि बढेको थापाको भनाइ थियो ।

 नेता थापाले सो चुनावीलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए । प्रधानमन्त्री भएपश्चात केपी ओलीले दुई वर्ष भित्रमा पूर्व पश्चिम राजमार्ग ६ लेनको बनाउने, पानी जहाज चलाउने, रेल भित्र्याउने सपना देखाएको भएपनि कुनै पनि कुरा पूरा हुन नसकेको थापाले टिप्पणी गरे ।

 सो चुनावी सभामा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वडा नम्बर १६ मा जसरी पनि चुनाव जितेर देखाउने बताएका छन् । तरुण दलका कार्यकर्तालाई निर्देशन दिँदै श्रेष्ठले बुधबार साँझदेखि वडा नम्बर १६ मा सरकारी सवारी साधन र सरकारी व्यक्तिलाई प्रवेश निधेष गर्न भनेका छन् ।

 सर्वदलीय सहमति अनुसार नै उपनिर्वाचन हुने क्षेत्रमा सरकारी सवारी साधन र सरकारी व्यक्तिलाई प्रवेश रोक्न लागिएको भन्दै श्रेष्ठले सरकारी पद धारण गरेका व्यक्ति गएको खण्डमा नियन्त्रणमा लिन समेत तरुण दललाई आग्रह गरेका छन् ।

Comments

Top