यसरी भत्कियो लालकिल्ला

lalkilla

 काठमाडौं । विभिन्न कारणले रिक्त ३७ जिल्लाको ५२ पदमा उपनिर्वाचन सम्पन्न भएको छ । त्यसको परिणाम पनि सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा पूर्वको ‘लालकिल्ला’ भनेर चिनिने सुनसरीको धरान महानगरपालिका प्रमुखमा प्रतिपक्षी नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले सोचेजस्तो मत नल्याएपछि ६० वर्षको विरासत गुमाउनु परेको छ । कम्युनिस्ट पार्टीको गढको रूपमा रहेको धरानमा कांग्रेस उम्मेदवार विजयी भएपछि सबैले आश्चर्य मानेका छन् ।

नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै कांग्रेसका तिलक राईले ऐतिहासिक जित दर्ता गरे । कांग्रेसका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत ल्याए । ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९।४९ प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका तिलक २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग पराजित थिए ।

२०१५ सालमा भएको संसदीय र स्थानीय निर्वाचनमा देशैभरी कांग्रेस उम्मेदवार विजयी भएको थियो । संसद्मा दुई तिहाइ र स्थानीय तहमा समेत कांग्रेसकै उम्मेदवार विजयी भएको थियो । तर, त्यस्तो बेलामा समेत धरानमा वामपन्थी उम्मेदवार केदारप्रसाद खनाल निर्वाचित भएका थिए ।

२०४६ सालको जनआन्दोलन र २०४८ सालमा भएको निर्वाचनमा मात्रै नभई त्यसयताको सबै निर्वाचनमा धरानमा वामपन्थी उम्मेदवार नै विजयी हुँदै आएका थिए । वामपन्थीको प्रभाव रहेकै कारण सुनसरी १ बाट पार्टी अध्यक्षसमेत रहेका नेता मनमोहन अधिकारीले चुनाव जितेका थिए । (राजधानी दैनिक )

Comments

Top