नेपालको स्वर्ण जित्ने सपना अधुरै, प्रशिक्षक खड्काद्धारा राजिनामा

nepal_1

  काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ ।

योसँगै १३औं सागमा भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपनामा तुषारापात लागेको हो ।

२०१० बाट सागमा समावेश भएको नेपाल तीनवटै संकरणमा फाइनलमा भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहेपनि त्यो सफल हुन सकेन ।

पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग १–० गोलले हारेको थियो।

खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी बालादेवीले ५५ औं मिनेटमा अर्को गोल थपेकी थिइन् ।

यसैबीच नेपाल पराजित भएसँगै नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

पोखरा रंगशालामा स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा नेपाल २–० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।

नैतिकताको आधारमा राजीनामा दिएको बताउँदै प्रशिक्षक खड्काले सागमा आफूले सम्हालेको टिमले व्यहोरेको पराजयको सम्पूर्ण जिम्मेवारी आफूले लिने पनि बताए ।

Comments

Top