स्वर्णका लागि ४–० ले हराएको भुटानसँग खेल्दै नेपाल, रंगशालामा प्रहरीको लाठी चार्ज

nepal

  काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) फुटबलको स्वर्णका लागि नेपालले आज भुटानसँग खेल्दैछ । साग फुटबलको स्वर्णका लागि दिउँसो तीन बजे दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्न लागेको हो ।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् ।

यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

तर, यो संस्करणमा भारत र पाकिस्तानले फुटबलमा भाग लिएनन् । अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई ४–० ले हराएको थियो ।

यसैबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । फाइनलको टिकट खोज्दै रंगशाला पुगेका दर्शकहरुमाथि प्रहरीले लाठी वर्षाएको हो ।

प्रहरीले कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार समुन चापागाईलाई प्रहरीले दुर्व्यवहार गरेको हो ।

यद्यपी काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने प्रहरीले बल प्रयोग नगरेको बताएका छन् ।

Comments

Top