logo

मेयरसा’बले मसँग कहिल्यै साल्लाह नै गर्नुहुन्न

hariprabha

  काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका तत्कालीन एमालेका नेता एवम् मेयर विद्यासुन्दर शाक्य विवादमा आइरहन्छन् । उनले काठमाडौं महानगरपालिकाबासीलाई ठूला सपना बाँडेर मेयरमा विजयी भएका थिए । तर, शाक्यले काम पूरा गर्नेतर्फ खासै ध्यान नदिएको भन्दै काठमाडौंबासी उनीसँग सन्तुष्ट छैनन् । मेयर शाक्य र नेपाली कांग्रेसबाट विजयी भएकी उपमेयर हरिप्रभा खड्गीबीच पनि राम्रो तालमेल भएको देखिदैन । यीनै विविध विषयमा mynewsnepal.comका लागि उपमेयर खड्गीसँग गरिएकाे कुराकानी :

० मेयर विद्यासुन्दर शाक्यले अकुपाइ टुँडीखेलको काम छैन भन्नुभएको छ । तपाई टुँडीखेल बचाउन लाग्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
– त्यो कुरा आ–आफ्नो विषय हुन्छ । मेयरको आफ्नो व्यक्तिगत भनाइ हो । टुँडीखेल तीन करोड जनताको नासो हो । मेयर साबले आफ्नो तरिकाले भन्नुभयो होला । तर, मचाहिं जनताको नासोलाई जनतालाई नै दिनुपर्छ भन्ने पक्षमा छु । वीर अस्पताल र दरबार स्कुलका सामानले टुडीखेल भरिएको छ । ती सामानलाई हटाउन तुरुन्त निर्देशन दिन सकिन्छ ।

दरबार हाईस्कुल पूरा भईसकेको छ । वीर अस्पताल पनि पूरा हुने तयारीमा छ । वीर अस्पतालको ढलानको काम सबै सक्किएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । २०७२ सालको जस्तै भूकम्प आयो भने त्यस क्षेत्रका जनता ज्यान बचाउन कहाँ जाने ? खाली ठाउँ त्यही एउटा टुँडीखेल मात्रै छ । त्यसको सुरक्षा गर्नुपर्छ । हामी सबैको दायित्व हो ।

० मेयर साबले टुँडीखेल बचाउन लागेका अभियन्ताहरूलाई किन अकुपाइ टुँडीखेलको अभियान आवश्यक छैन भनेर भन्नुभयो होला ?
– यो उहाँको भनाइ हो । मैले त्यो कुरा अझै बुझ्न सकेको छैन ।

० मेयर र उपमेयरको कुरा अहिले पनि नमिलेको हो कि ?
– त्यस्तो होइन, मिल्छ । मिल्ने भनेर मेयरले मसँग सरसल्लाह गर्नु हुन्छ भन्ने होइन । म आफ्नै तरिकाले जनताको सेवा गर्न हिँडिरहेको छु । म अफिसमा दशदेखि पाँच बजेसम्म बसेर जनताको काम गर्छु । टुँडीले बचाउनु पर्छ भन्ने विषयमा धेरै जनता म समक्ष सजिलै सम्पर्कमा आउनु हुन्छ । म सोहीअनुसार अगाडि बढेको छु । टुँडीखेलको रक्षा गर्छु । जनता मसँग नै बढी सम्पर्कमा आउने भएका कारणले मेयरलाई चित्त नबुझेको हुन सक्छ ।

० मेयरले तपाईको अधिकार कटौती गरेर आफैले काम गर्दै आएको भन्ने कुरा आएका छन् नि ?
– अँ ! एक दुई वटा मुद्धाहरू चाहिँ बाहिर आएका छन् । अदालतबाट धेरै मुद्धाहरू फर्किएका छन् । न्यायिक अधिकार समितिको क्षेत्रभित्र परेको चिज चाहिँ किन मेयरले फैसला गरेको भनेर म कहाँ कुरा आईपुगेको छ । मलाई पनि अचम्म लागेको छ । संविधानले नै तोकेर लेखेको छ, उमेयर न्यायिक समितिको संयोजक हो ।

उपमेयरलाई यो–यो अधिकार छ भनेर लेखेको छ । संविधानले दिएको अधिकार कटौती गर्दा मेयरलाई नै घाटा पर्छ । न्यायिक समितिको अधिकारभित्र परेको विषयलाई उपमेयरलाई नै हेर्न पठाउनुपर्ने चिजलाई मेयर आफैले हेरेर निर्णय गरियो भने मेयरलाई नै घाटा पर्ने हो नि ।

० अधिकार कटौती गरिएको विषयमा मेयरसँग कुरा गर्नुभएको छैन ?
– मेयरलाई भेट्न पाएको छैन । बसेर कुरा गर्न पाएको छैन । बाहिर कार्यक्रममा भेट हुन्छ । औपचारिक रुपमा कुरा भएको छैन । यस्ता कुरालाई बसेर समाधान गर्न कसरी सकिन्छ भनेर परामर्श गर्नुपर्छ । मेयरसाबले कि यस्तो कुरामा हस्तक्षेप गरेको हो ? त्यो त उहाँ आफैले सोच्ने हो । मेयर काठमाडौं महानगरपालिकाको मात्र नभई जनताको पनि अभिभावक हो । उहाँले त्यो कुरा आफैले राखेर किन निर्णय गर्नुभयो मैले पनि बुझ्न पाएको छैन । टुँडीखेल, हस्तक्षेपको विषयमा मेयरसँग कुरा गर्न पाएको छैन ।

मैले टुँडीखेलको समस्याको बोधार्थ मेयरलाई दिएको थिएँ । म आफू नै अबलोकन रिकन संयोजकको नाताले टुँडीखेलको अपकुपाइको विषयमा जनताले ज्ञापनपत्र बुझाउन आएपछि नजाने भनेर गाह्रो होइन । आफूले प्रत्यक्ष बेदना भोगेपछि मात्र त्यहाँको समस्याको बारेमा थाहा हुन्छ । त्यसैले टुँडीखेललाई जस्ताको त्यस्तै राख्नुपर्छ ।

० रत्नपार्कको पुरानो बस पार्कका भ्युटावर बनाउने कुरामा तपाईको फरक मत हो ?
– भ्युटावर पुरानो बसपार्कमा बन्नु हुँदैन भनेर मैले नै भनेको छु । पुरानो बसपार्कमा भ्युटावर बनाउनुपर्छ भनेर माथिबाट आदेश आएको कुरा हुने गरेको छ । बागबजार मेरो कर्मथलो पनि हो । र पनि समयमा भ्युटावर बनाएको भए सबैलाई राम्रो हुने थियो ।

त्यहाँ काम गरेको देखाइएको छ । समयमै भ्युटावर बन्न नसक्दा काठमाडौं कुरुप बनिसकेको छ । कि बनाउनु प¥यो कि छाड्नु प¥यो । ठेकेदारले काम पूरा गर्ने कार्य गर्नुभएको छैन । यो काम गर्न लागेको वर्षौं भइसक्यो । अब हामी सबै बसेर एउटा निर्णय लिनुपर्छ । जनप्रतिनिधिहरू बसेर एउटा टुँगोमा पु¥याउनुपर्छ ।

० काठमाडौं महानगरपालिकाभित्र र वडाहरूमा भ्रष्टाचार बढेको कुरा आएको छ । राष्ट्रिय सभा गृहको आम्दानीको स्रोत पनि लुकाइएको छ । यसरी भ्रष्टाचार हुँदा पनि तपाईहरू किन बोल्नु हुन्न ?
– महानगरपालिका भित्र भ्रष्टाचार भएको छैन । शुरुदेखि नै म भ्रष्टाचार रोक्ने प्रयास गरिहेको छु । तर, मेरो एक्लो प्रयासले मात्रै हुँदैन । पशुपति क्षेत्र विकास कोषमा पुजारी राख्ने विषयमा हस्तक्षेप भएको छ । एक्लैको प्रयासले राज्यको ढुकुटीलाई जोगाउन सफल भएको छु ।

० मेयरसँगको तपाईको समस्या के हो ?
– उहाँको सबैभन्दा ठूलो कमजोरी भनेको मसँग कुनै पनि सरसल्लाह नै गर्नुहुन्न । मेयरले निर्णय गरेको धेरै पछाडि मात्रै मलाई जानकारी हुन्छ ।

० मेयरका गतिविधिमाथि प्रश्न उठाउनु भएको छैन ?
– मेयरको ज्यादतीको कुरा बोर्ड बैठकमा उत्रार्ने हो । अफिसमा बसेर मेयरविरुद्ध एक्लै कराएर केही हुनेवाला छैन । पार्टीलाई मैले भन्नुपर्ने कुरा भनेको छु । उहाँहरूसँग काम गर्न सजलो छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यस विषयमा कुराकानी भएको छ ।

० सभापति देउवाले के भन्नुभएको छ ?
– मैले मेयरको बारेमा सबै कुरा सभापतिलाई भनेको छु । उहाँले हेरौँला भन्नुभएको छ । सभापतिले चुप लागेर बस्ने होइन भन्नुभएको छ । नराम्रो काम भएको छ भने जनतामाझ भण्डाफोर गर्नुपर्छ भन्नुभएको छ ।

० रानीपोखरी कहिले बन्छ ? त्यसको समस्या के हो ?
– रानीपोखरी बन्ने पक्का भईसकेको छ । अहिले दक्ष जनशक्ति चाहिएको छ । रानीपोखरीमा डोजर लगाउनु हुँदैन भन्ने जनताको आवाज आइरहेको छ । त्यसैले अलि ढिलो हुने देखिन्छ । तर, बन्न चाहि बन्छ ।

० काठमाडौंको धुलो धुँवा अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । यसप्रति महानगरपालिकाले केही सोच्नु पर्दैन ?
– ब्रमुरले रातभरि काम गरिरहेको छ । दुई वटा ब्रुमरले बाटो सफा गरिरहेको मैले देखिरहेको छु । धुलो सफा गर्ने काम भएको छैन भन्न मिल्दैन । भरखरै दुई वटा ब्रुमर आएको छ । यसलाई निर्मुल पार्नको लागि स्थानीय सरकार मात्रै अगाडि बढेर हुँदैन । तीन वटै सरकार अगाडि बढ्नुपर्छ ।

काठमाडौं महानगरपालिका भित्र ७७ वटै जिल्लाका मान्छेहरू यहीँ बसेका छन् । प्रधानमन्त्री, मन्त्री, सांसदहरू लगायत सबै यहीँ बस्ने नै हो । आफ्नो जिल्लाबाट जितेर आएपनि काठमाडौंमा बढी बसाइँ भएपछि यसलाई बुलुन्द रुपमा आवाज उठाउनुपर्छ । हामी काम गर्न सधैँ तयार छौँ ।

चेतनामूलक कार्यक्रम महानगरपालिकको रेडियोले गर्दै आएको सुनिएको छ । नेपाल सरकारले नै काठमाडौं उपत्यकालाई धुलोमुक्त काठमाडौं बनाउनुपर्छ भनेर सबै लाग्नुपर्छ । स्थानीय सरकारलाई मात्रै दोष दिएर हुँदैन ।

० नेपाली कांग्रेसले जनतालाई कर चर्को भएको भनेर आवाज उठाइरहेको अवस्थामा महानगरपालिकाले कर घटाउने बारेमा सोचेको छ ?
– कर बढि भएको विषयमा मैले पनि आवाज उठाइरहेको छु । करको दायरा फराकिलो बनाउनु पर्छ तर, कर कम गर्नुपर्छ भन्ने मेरो भनाई हो । यद्यपी करको विषयमा मेरो कुराको सुनुवाई भएको छैन ।

(यसअघि यस अन्तर्वार्तामा (काठमाडौं महानगरपालिका वडा नम्बर १६) पर्न गएको हुँदा त्यसलाई सच्याइएको छ ।)

Comments

Top