नयाँ इन्सपेक्टरहरुलाई राष्ट्र र जनताको सेवामा बफादार हुन आईजीपीको निर्देशन

sarbendra khanal

  काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीको निलो बर्दीमा सह्य नहुने बताएका छन् ।

प्रहरी तालिम केन्द्र महाराजगंजमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको निलो बर्दीमा कालो दाग कसैले लगाउन नहुने भन्दै कसैले लगाए संगठनमा त्यो सह्य नहुने बताएका हुन् ।

तालिम सकेर कार्यस्थल जान लागेका प्रहरी निरीक्षकहरूलाई सफल व्यवसायिक जीवनको शुभकामना दिदैं आईजीपी खनालले राष्ट्र र जनताको सेवामा बफादार हुन निर्देशन समेत दिए।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन नेपाल प्रहरी सदैव तत्पर रहेको बताए ।

उनले भने–‘सामाजिक रुपान्तरण र दिगो शान्ति कायम राख्न आपसी सहिष्णुता, एकता कायम गर्दै समाजमा अवाञ्छित गतिविधि हुन नदिन र गैरकानुनी क्रियाकलापलाई निस्तेज पार्दै कानुनी राज्यको प्रवर्द्धन गर्न नेपाल प्रहरी दृढ संकल्पित छ ।’

अपराध रोकथाम र शान्ति सुरक्षा कायम राख्न समुदाय र प्रहरीको सहकार्य नै उत्कृष्ट माध्यम हो भन्ने मान्यतालाई मनन् गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागू गरिएको बताउँदै उनले प्रहरीका हरेक क्रियाकलाप, गतिविधि समाज र आम सञ्चारको दृष्टिबाट लुक्न नसक्ने उल्लेख गरे ।

खनालले भने–‘आजको पुलिसिङमा व्यावसायिक, पारदर्शी र नागरिकमैत्री सेवाको विकल्प छैन, व्यवहारमा पारदर्शीता र कानुनी कठोरता हाम्रो कार्यशैलीरहनु पर्दछ ।’

समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तालिममा सर्वप्रथम, शारीरिक व्यायाम तथा आत्मवल अभिवृद्धि र प्रहरी युक्ति तथा कारबाही प्रथम द्वितीय र तृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नेपाल प्रहरीले विभिन्न अड्चन तथा चुनौतिको सामु आफूलाई संयमित राख्दै पारदर्शी र निष्पक्ष कार्यशैलीकासाथ व्यावसायिक धर्म निर्वाह गर्नु पर्ने पनि बताए ।

१८ महिने लामो तालिम सकेर शुक्रबार ९१ जना प्रहरी पास आउट भएका छन्। जसमा ९ जना महिला छन्। तालिममा प्रहरी निरीक्षक किरण राउत, अनिल थापा र सुवास खतिवडा क्रमश प्रथम, द्वितीय र तृतिय भए ।

दीक्षान्त समारोहमा गृह सचिव प्रेमकुमार राई, गृहमन्त्रीका विज्ञ सुरक्षा सल्लाहकारहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा बरिष्ठ अधिकृतहरुलगायतको उपस्थिति रहेको थियो ।

Comments

Top