धनुषामा बम बिस्फोट हुँदा इन्स्पेक्टरसहित तीनकाे मृत्यु

amirdahal

 काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी नेपाल प्रहरीका इन्स्पेक्टर अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको मृत्यु भएको छ ।

 कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । दाहाललाई शनिबार बिहान डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । 

 विस्फोटमा परी अन्य ३ जना घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन्।
बम भएको सुचना पाए लगत्तै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको थियो । बम विस्फोट कसले र किन गरायो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। 

Comments

Top