१५ बर्ष अघि हत्या गरेर फरार भएका २ जना पक्राउ

pakrau

  काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले २०६१ बैशाख २६ गते ग्याङ फाइट गरी हत्या गरेको अभियोगमा १५ वर्षपछि दुई जनालाई पक्राउ गरेको छ ।

नुवाकोट जिल्ला साविक गोर्स्याङ गाविस–२ हालको तार्केश्वर गाउँपालिका–५ बस्ने जाहेरवाला वाङ्देन लामाको छोरो बर्ष १५ को लैलु लामालाई वडा नं.–४ कर्छिन्टे स्थित फ्याङबो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा कुटपीट गरी घाइते बनाएपछि फरार भएका सन्त बहादुर तामाङ्ग र केशब लामा अहिले पक्राउ परेका हुन् ।

घाइते लैलुको उपचारको क्रममा २०६१ बैशाख २९ गते त्रिशुली अस्पतालमा मृत्यु भएको थियो ।

पक्राउ परेका दुबै जना नुवाकोट साविक गोर्स्याङ गाविस–८ हाल तार्केश्वर गाउँपालिका वडा नं. ५ का हुन् । पक्राउ परेका दुई जनासहित ४ जनाले टोल टोलको झगडाको विषयलाई लिएर कुटपिट गर्दा घाइते भएका लैलाको तीन दिन पछि मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दाका वारदात पश्चात हालसम्म फरार रहेका प्रतिवादीहरु सन्त बहादुर तामाङ्गलाई मंसिर २८ गते नागार्जुन नगरपालिका–२ नाम्गेल चोकबाट र केशब लामालाई काठमाडौंं महानगरपालिका–१७ ढल्कुबाट सिआईबीको विशेष टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका डण्डीरफर्मा काम गर्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाईएको सिआईबीले जनाएको छ । तामाङ तत्काल २५ वर्ष, हाल ४० वर्ष र लामा तत्काल १७ बर्ष, हाल ३२ वर्ष रहेको पनि सिआईबीले जनाएको छ ।

Comments

Top