सभामुखमा कुरो नमिलेपछि माघ ६ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

samsad 1

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्मुनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा आइतबारका लागि बोलाइएको संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो। यद्यपी संघीय संसदले निकालेको सूचनामा भने विशेष कारणवस बैठक बस्न नसक्ने उल्लेख गरिएको छ ।

नेकपाले सभामुखको विषयमा निष्कर्ष निकाल्न नसक्दा यस अघि पनि बैठक दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको थियो।

सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर, तुम्बाहाङ्फेले राजीनामा नदिने आइतबारको बैठक आफैं चलाउने बताएकी थिइन् ।

यसैबीच संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा पार्टीको उम्मेदवार टुंग्याउन सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।

छलफलमा उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको पनि सहभागिता रहेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टादेखि जारी छलफलमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ।

Comments

Top