प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा

bagmati

  काठमाडौं । अन्ततः प्रदेश ३ को नाम राजधानी हेटौंडा र नाम वाग्मती भएको छ । प्रदेशसभामा आइतबार भएको मतदानमा दुई तिहाई मतले नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याएको हो ।

प्रदेश नाम वाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत परेको थियो । ११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन्।

प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए ।

राजधानी हेटौंडा राख्ने प्रस्तावमा मतदान हुँदा १०५ सांसदले पक्षमा र ३ जनाले विपक्षमा मत हालेका थिए। प्रदेश राजधानी हेटौंडा तोकियोस् भनी मुख्यमन्त्री एवं नेकपा नेता डोरमणि पौडेलले प्रस्ताव गरेका थिए।

प्रदेशसभाको पहिलो बैठकमा राजधानी तोक्नेबारेको प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ प्रस्तुत गरेका थिए।

त्यसक्रममा साझा पार्टीका सांसद रमेश पौडेलले प्रदेश राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव सांसद पौडेलले फिर्ता नलिएपछि मत विभाजन हुँदा दुई तिहाइ बहुमतले अस्वीकृत भएको थियो।

१०४ जनाले मतदानमा भाग लिएकोमा प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत परेको थियो। त्यसपछि मुख्यमन्त्री पौडेलले हेटौंडा राजधानी तोक्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

Comments

Top