नेपालको लज्जास्पद हार, विश्वकपमा छनौट हुने सम्भावना कमजोर

काठमाडौं : आइसीसी यू–१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट हुँदै अफगानसँग १४१ रनले पराजित भएको हो । नेपालले बनाएको ४९ रन मध्ये २६ रन पवन सरार्फ एक्लैले बनाएका थिए । पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले अर्को ओभरमा सन्दिप सुनारलाई पनि २ रनमा गुमाउन पुग्यो । सन्दिप लगातार तेस्रो खेलमा चल्न सकेनन् । नवौं ओभरमा अफगानी बलर नभिन उल हकले यस ओभरको चौथो, पाचौं र छैटौं बलमा क्रमसः दीपेन्द्र सिंह ऐरी, प्रनित थापामगर र अनिल शाहलाई आउट गराउँदै प्रतियोगिताकै पहिलो हृयाट्रिक लिए । त्यसपछि नेपाल निक्कै दबावमा आयो । आठौं नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सम्हालिएर खेल्ने प्रयास गरे । तर, उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । अन्तिम विकेटका रुपमा आउट भएका पवनले २६ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आशिफ शेखले ६ रन बनाउँदा आदिल खान र दिपेन्द्र सिंह ऐरीको नाममा ४–४ रन रहृयो । सन्दिप सुनार, र किशोर महतोले २–२ रन बनाउँदा शाहेब आलमले १ रन मात्र जोडे । चार ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका नभिन उलहक र मुजीबले समान ४–४ विकेट हात पारे । अफगानिस्तानसँगको पराजयसँगै नेपाल न्युजिल्याण्डमा हुने विश्वकपमा छनौट हुने सम्भावना कमजोर बनेको छ । दुई चरणमा हुने छनौटको पहिलो चरणका खेलहरु सकिँदा अपराजित अफगानिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । विश्वकपमा छनोट हुनका लागि नेपालले बाँकी तीनै खेल जितेर मात्र पुग्दैन, अफगानिस्तानको नतिजामा पनि निर्भर हुनुपर्छ । समूहको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित