गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिदै

oxygen plant

काठमाडौँ -

महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्न आउने बिरामीको लागि निःशुल्क अक्सिजन उपलब्ध गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । केन्द्रको २४ औँ स्थापना दिवस तथा शहीद सप्ताहको कार्यक्रम पारेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेशसभा सदस्य दीपक निरौलाको रोहबरमा सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे।

सम्झौताबमोजिम केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरीद खुला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ । यसरी गरिएको बोलपत्रबाट छनोट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैंक खातामा पठाइदिनेछ । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ ।


कामपाले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट छुट्याएको छ । सो अवसरमा रक्षामन्त्री पोखरेलले स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गरिएको कामको सराहना गरे। महानगरले सकेको आफैँ र नसकेका ठाउँमा सक्नेको सहयोगमा काम गरे दिगो हुन्छ भन्दै उपप्रधानमन्त्री पोखरेलले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे।


कामपाको यही माघ ८ गते शहीद सप्ताह सञ्चालनका लागि बसेको बैठकले शहीदका सम्झनामा उद्यान, मानव सेवा आश्रम र अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्णयअनुरुप सो काम अघि बढाइएको हो । बैठकको निर्णयमा कामपाले शहीद धर्मभक्त माथेमाका स्मृतिमा वडा २३ ॐ बहालमा उद्यान निर्माण गर्ने र ‘शहीद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने तथा गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको केन्द्रमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्ने थियो । विसं १९९७ मा शहादत प्राप्त शहीदले प्राणदण्ड पाउनुभएका स्थानमा कामपाले यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Comments

Top