आगामी चार महिनाभित्र ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिसक्ने

smart liecence

यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण ( मास प्रिन्टर ) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्को दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ ।


प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अबको छ महिनामा सेवाग्राहीले परीक्षा पास गरेको केही दिनमै अनुमतिपत्र पाउने उनको भनाइ छ । उनले भने, “अहिले रहेको छाप्न बाँकी अनुमतिपत्र सकिँदा मास प्रिन्टरको क्षमताले मागअनुसार छाप्न सक्छ ।”


झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा उपकरण ल्याइएको थियो । सो उपकरण आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायतका काम भएपछि गत महिनाबाट उपकरण सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ ।


अहिले दैनिक सात÷सात घण्टा गरी तीन सिफ्टमा सञ्चालन भइरहेको महानिर्देशक हमालले बताए । दैनिक २१ घण्टामा उपकरण समयसमयमा रोकेर १५ देखि १६ घण्टा प्रयोगमा ल्याइएको छ । उनले भने, “अहिले मास प्रिन्टरबाट दैनिक झण्डै पाँच हजार अनुमतिपत्र छपाइ भइरहेको छ ।”


मास प्रिन्टरसँगै विभागमा विगतदेखि सञ्चालनमा रहेका साना क्षमताका तीन प्रिन्टर छन् । तीन प्रिन्टर’ ले दैनिक झण्डै एक हजार अनुमतिपत्र छापिरहेको छ । मास प्रिन्टर परीक्षणकालदेखि अहिलेसम्म नियमितरूपमा सञ्चालनमा छ । अहिलेसम्म कुनै पनि किसिमको समस्या नआएको उनले बताए ।

विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ ।

यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाई हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि छाप्ने काम गरेका छैनन् ।


विभागमा विगतका वर्षमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्ने ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको महानिर्देशक हमालले बताए । उनले भने, “डेढ लाख कार्ड छपाइ गरिसकेका छौँ, अझै आठ लाख ५० हजार कार्ड हामीसँग छ ।”


‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हटाउन मन्त्रालयले पनि चासो देखाउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै विभागमा पुगेर ‘मास प्रिन्टर’ अवलोकन गर्दै विभागलाई समयमै चालक अनुमतिपत्र छपाइ गरिसक्न निर्देशन दिएका थिए ।

Comments

Top