एसएसपी शौरभ शमशेर राणा निलम्बित, यौन शोषण र ज्यान मार्ने धम्की दिएको उजुरी

 

SSP-saurabha-rana

नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक ( एसएसपी ) शौरभ शमशेर राणा निलम्बित भएका छन् । शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो । एसएसपी राणाविरुद्ध झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ । 

उनीविरुद्ध पटक–पटक यौन शोषण गरेको र ज्यान मार्नेसम्मको धम्की दिएको उजुरी महिलाले गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म दिएकी थिइन् । गृह मन्त्रालयले शुक्रबार राणालाई निलम्बन गरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ । एसपी हुँदादेखि नै ति महिलालाई राणाले यौन शोषण गरेको अभियोग लागेको थियो । यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ ।

राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्। जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ। अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बिहीबार ढिला गरी जाहेरी परेकाले शुक्रबार मात्र स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

तर, एसएसपी राणाले आरोपमा सत्यता नभएको दाबी गरे ।  ‘यो विषयलाई लिएर मलाई धेरै समयदेखि दुःख दिने काम भइरहेको छ -’ उनले भने ।
केहि दिनमै यसबारे बोल्ने पनि उनले बताए ।

त्यस्तै प्रहरी महिला कर्मचारीको यौन शोषण गरेको उजुरी परेपछि एसएसपी राकेश सिंहबारे पनि अनुसन्धान जारी रहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

Comments

Top