कोरोनाबाट बच्न नेपाल सरकारको सतर्कता : चीनमा रहेका नागरिक सुरक्षित राख्न यस्तो छ तयारी

received_672311716845018

काठमाडौं -

चीनमा डरलाग्दो गरी फैलिएको कोरोना भाइरसका विषयमा नेपाल सरकारले विशेष चासो दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई आफ्नो दायित्व निर्वाहा गर्न र नेपाली नागरिक सुरक्षित राख्नको लागि निर्देशन दिएका छन् ।

मन्त्रीहरूले पनि आवश्यक तयारी गरेको बताएका छन् । नेपालमा शंका गरिएका विरामीलाई तत्काल उपचारमा लाग्न प्रधानमन्त्रीको निर्देशन छ ।

२ वटा जहाज तयारी : पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न २ वटा जहाज तयारी अवस्थामा राखिएको बताएका छन् । भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरूलाई फिर्ता गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको जानकारी शनिबार गराएका हुन् । अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको भट्टराईले बताए ।चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

सहजिकरणको लागि परराष्ट्रको चीनलाई पत्र

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले चीनमा रहेका नेपालीलाई सुरक्षित गर्न र नेपाल ल्याउन सहजिकरण गर्नको लागि चीन सरकालाई पत्र पठाएका छन् । उनले नेपालले जतिसुकै बेला आफ्ना नागरिक ल्याउनको लागि सहजिकरण गरिदन आग्रह गर्दै पत्र काटेका हुन्। ह्याट्सएप ग्रुप बनाएर पनि चीनमा नेपालीहरू सम्पर्कमा बसेको र थप सक्रिय हुनको लागि दुतावासलाई परराष्ट्र मन्त्रीले निर्देशन दिएको ज्ञवालीका प्रेस सल्लाहाकार सुधन ज्ञवालीले गराए ।

छुट्टै उपचार केन्द्र स्थापना गरिने

स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशंका भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने तयारी गरेको बताएका छन् । उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए ।

ब्यारेक तरीकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए । ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनले जानकारी दिनुभयो । बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने उनले बताए । सरकारले अहिले १०० भन्दा बढी श्ययाको विशेष उपचारकक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

उहानमा रहेका नेपाली सुरक्षित

चीनको उहानमा रहेका नेपाली सुरक्षित रहेका छन् । उहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको आज एक विज्ञप्ति जारी गरेर जनाएको छ । यहाँस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्य अनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ । साथै चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्ने जनाएको छ ।

नेपाल भ्रमण वर्ष–२०२० का सन्दर्भमा पनि चीन सरकारले परिस्थित नियन्त्रणमा आउने बित्तिकै आफ्ना नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्ने स्पष्ट गरेको छ ।

Comments

Top