logo

सिजीलाई नैतिक प्रश्न : खुल्यो लुकेको अनुदान रकम

cgg

काठमाडौं ।

कांग्रेसमा प्रवेश गरेकै कारण सिजी कम्युनिकेशनको लाइसेन्स रोकिएको भन्दै प्रचारमा लागेको चौधरी ग्रुपमाथि नैतिक प्रश्न उठेको छ । केही दिनअघि पत्रकार सम्मेलन गरेर सञ्चारमन्त्रीले गलत व्याख्य गरेको दाबी गरेको चौधरी ग्रुपको स्वामित्व रहेको सिजी कम्युनिकेसनका विषयमा सञ्चार मन्त्रीले लुकेको पाटो बिहीबारको पत्रकार सम्मेलनमा बाहिर ल्याएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले अनुदान लिएर पनि कम्पनीले सेवा विस्तार नगरेको र त्यसको गलत व्याख्य गरेको बताएका छन् । ‘एक हजार ६८ ओटा पीसीओहरु बने की बनेनन् ? अब त्यो रकम के हुनुपर्ने हो ? काम सकेपछि त्यो रकम फिर्ता हुनु पर्ने हो कि होइन ? गर्छु भनेको काम नगरेपछि हिनामिना भयो भएन ? राज्यको सम्पत्ति त हो नि ? अनुदान फिर्ता गर्नुपर्दैन होला तर एउटा सामान्य शर्त त हुन्छ नि - बास्कोटाले भने ।

तत्कालिन एसटीएम टेलिकमले पूर्वाञ्चल विकास क्षेत्रका ५३४ स्थानमा भिस्याट प्रविधिमार्फत दूरसञ्चार सेवा उपलब्ध गराउन सरकारबाट १ करोड १८ लाख ६५ हजार अमेरिकी डलर अनुदान पाएको थियो । तत्कालिन समयमा सरकारले विश्व बैंकबाट ऋण लिएर कम्पनीलाई अनुदान उपलब्ध गराएको थियो ।
उनले सिजी टेलिकमलाई युनिफाइड लाइसेन्सका लागि कानूनी प्रकृया पुरा गरेर आउन आग्रह गरेका छन् । सीजीले केही दिन अघि आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आफूले राज्यलाईे ४४ करोड रुपैयाँ तिरिसकेको जानकारी गराएको थियो ।

मन्त्री बाँस्कोटाले उक्त रकम यस अघि उसले लिएको लिमिटेड मोबिलिटी र ग्रामीण दूरसञ्चार सेवाको सन्दर्भ भएको बताउदै भने -‘ ४१ जिल्लाका ५३४ ओटा गाबिसमा सेवा विस्तार गर्ने गरी अनुमतिपत्र लिएको थियो । तर उसले काम कहाँ गर्यो त रु १ हजार ६८ ओटा पिसिओहरु स्थापना गर्नुपर्ने थियो ।
बास्कोटाले सिजी प्रकिया बाहिरबाट सुविधा खोजेको पनि जानकारी गराएका छन् । कम्पनीले पूर्व शर्तहरु पुरा नगरी ढोका छदाँछँदै झ्यालबाट मन्त्रीपरिषदमा गएर नियमहरु बदल्न लगाएको मन्त्री बाँस्कोटाको भनाई छ ।

लाइसेन्स दिने सवालमा जनाएको प्रतिवद्धता भनेर सिजीले उठाएको विषयमा पनि मन्त्रीले खण्डन गरेका छन् । बार्सिलोनाको वर्ल्ड मोबाइल कंग्रेसका दौरान खिचिएको फोटोको गलत प्रयोग भएको उनको भनाई छ । सरकारमाथि निरन्तर खेद्न खोजिए पनि सरकारको कमजोरी नगरेको बास्कोटाले बताए ।
‘म साँक्षी बसेको पनि होइन, मैले सम्झौतामा सही गरेको पनि छैन र मैले लाइसेन्स दिन्छु भनेर बाचा गरेको पनि छैन । खुशीको कुरा हो विदेशीहरुसँग सहकार्य गरेर राम्रो प्रविधि भित्राउनु स्वागतयोग्य कुरा हो भनेर मैले भनेको मात्र हुँ । औपचारिक भाषण पनि होइन त्यो । व्यक्तिगत भेटघाट मात्र हो त्यो । फेरी पनि आग्रह छ प्रक्रिया पुरा गरेर आउनुहोस्, पूर्वाग्रह हुन्न,’ उनले भने ।

 

Comments

Top