logo

नेकपाले सातै प्रदेशमा विशेष भेला गर्ने : कहाँ कहिले

oli-prachanda

काठमाडौं : सत्तारुण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा विशेष भेला आयोजना गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षमा गरेको कामको उपलब्धी, पार्टीले गरेका काम र पार्टीको अभियानका विषयमा जानकारी गराउनको लागि नेकपाले सबै प्रदेशमा भेला आयोजना गर्ने भएको हो ।
भेला तथा अभियानका लागि नेकपाले प्रमुख नेताहरुलाई जिम्मेवारी तोकेको छ भने सातै प्रदेशका भेलामा दुबै अध्यक्ष आउने गरी प्रदेशलाई सूचित गरिएको नेकपा सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सत्ताको समेत जिम्मेवारीको कारण अध्यक्ष ओली सबै क्षेत्रमा जानेछैनन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने सबै कायक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

कुन नेताको जिम्मेवारी कहाँ ?

पार्टी केन्द्रीय कार्यालयकाअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश २ र बागमती, अर्का वरिष्ठ नेता झलनाथ खनाल गण्डकी र कर्णाली प्रदेशमा जानेछन् ।
उपाध्यक्ष वामदेव गौतम प्रदेश २ र सुदूरपश्चिम, प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी र कर्णाली प्रदेश जाने कार्यतालिका रहेको छ । सचिवालयका अनुसार ईश्वर पोखरेल प्रदेश दुई र वागमती, सचिवालय सदस्य रामबहादुर थापा प्रदेश एक र पाँच तथा महासचिव विष्णु पौडेल प्रदेश एक र ५ मा प्रमुख वक्ताका रुपमा सहभागी हुनेछन् ।

कहिले कहाँ ?

नेकपाले कहिले कहिले भेला राख्ने भनेर पनि समय टु‌ग्याएको छ । जसअनुसार फागुन ४ र ५ गते प्रदेश पाँचमा भेला हुनेछ । फागुन ६ र ७ गते कर्णाली प्रदेशमा भेला राखिएको छ ।
फागुन ९ र १० गते प्रदेश दुई विशेष कार्यक्रम छ भने फागुन १२ र १३ गते गण्डकी प्रदेशको कार्यक्रम रहेको छ ।
वागमती प्रदेशमा फागुन १५ र १६ गते कार्यक्रम रहेको छ भने, फागुन १८ र १९ गते सुदूरपश्चिमको कार्यतालिका रहेको छ । फागुन २० र २१ गते प्रदेश १ को विराटनगरमा विशेष कार्यक्रम सहित भेला राखिएको छ ।
पार्टी एकतापछि केन्द्रीय योजना अनुसार बृहत् कार्यकर्ता भेला र प्रशिक्षण हुन लागेको पहिलो पटक हो । भेलाका क्रममा अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत दिने कार्यक्रम तय भएको छ ।

 

Comments

Top