भ्रमण वर्षमा हाम्रो अभियान : चौथो श्रृंखलामा पाटन दरवार क्षेत्र

patan darbar


काठमाडौं : Mynewsnepal.com ले चलाएको 'भ्रमण वर्षमा हाम्रो अभियान' को चौथो श्रृंखलामा ललितपुरको पाटन दरवार क्षेत्रलाई केन्द्रित गरेका छौँ । यसअघिको तीन श्रृंखलामा हामीले विश्वसम्पदा सूचीमा सूचीकृत पुशपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र र डोलेश्वर मन्दिरको विषयमा चर्चा गरेका थियौँ।


भ्रमण वर्षमा हाम्रो अभियान : पहिलो श्रृंखलामा पशुपतिनाथको चर्चा

भ्रमण वर्षमा हाम्रो अभियान : दोस्रो श्रृंखलामा भक्तपुर र दरवार क्षेत्रको महत्व

भ्रमण वर्षमा हाम्रो अभियान : तेस्रो श्रृंखलामा भक्तपुरको डोलेश्वर मन्दिर

काठमाडौं उपत्यकाका प्रसिद्ध ३ शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । पाटन दरवार नेपालको मल्ल कालिन एक दरवार हो । दरवारमा रहेको कृष्ण मन्दिर जयस्थिति मल्ल्ले निर्माण गरेको इतिहास रहेको छ । पाटन शहर बरदेवले स्थापना गराएको लेखहरू पाइन्छन् ।
प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । १८ औं शताब्दीमा निर्मित हरिशंकर मन्दिर यहाँ रहेको छ । ०७२ सालको भुइँचालोमा भत्किएको यो मन्दिको अहिले पुर्ननिर्माण गरिएको छ ।
पाटन दरबारक्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर त्यसबेलाको प्रशासनको मूलकेन्द्र पनि थियो भनिन्छ । वि. स १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाईविस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासमा उल्लेख छ । उनले नै आफ्ना इष्टदेवता तलेजु भवानीको मन्दिर पनि त्यहाँ बनाएको उल्लेख छ ।

पाटन दरबारको महत्त्वपूर्ण अंग सुन्दरीचोक पनि एक हो । सन् १६९३मा मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दुका रूपमा छ ।
पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन्- केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक। केशवनारायणचोक सबैभन्दा पुरानोचोक हो ।

Patan_Durbar_Square_IMG_4442

एउटै ढुंगाबाट शिखर शैलीमा निर्मित २१ गजुरयुक्त कृष्ण मन्दिर लगायत लहरै निर्मित अन्य धरोहरबाट सबै अचम्मित हुने गर्छन् । सत्रौं शताव्दीका धातुकला, काष्ठकला र प्रस्तरकलाको अनुपम नमूनाले दरबार क्षेत्रमा सुनमा सुगन्ध भरेको छ ।
दरवार परिसर अवलोकन गर्ने पर्यटकहरु मल्लकालीन सभ्यताको उत्कृष्ट नमूनाको अनुभूति गरेको पाइन्छ । दरवार स्क्वायरको घुम्नै पर्ने स्थल मुलचोक र सुन्दरीचोक हो । यहाँ नेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ ।

पाटन दरवारका दशैंघर, तलेजु, देउतलेजु, कृष्ण मन्दिरकै छेउँको भीमसेन मन्दिर हेर्नलायक छन् ।भीमसेन मन्दिर श्रीनिवास मल्लले बनाउन लगाएको इतिहासविदहरु बताउँछन् । यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डप तत्कालीन राजा योगनरेन्द्र मल्लले बनाउन लगाएका थिए । योगनरेन्द्रलाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ ।

1280px-Patan_Durbar_Square_IMG_4452

Comments

Top