प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व प्रा.डा. प्रेमराज ज्ञवालीले गर्ने

Operation Oli
काठमाडौँ ।
त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नुहुने भएको छ ।  मिर्गौला प्रत्यारोपणमा १५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मी खटिने भएका हुन् ।

टोलीमा प्रा. डा. प्रेम ज्ञवालीको नेतृत्वमा डा.उत्तम शर्मा,डा.दिव्या सिंह शाह,डा. पवन चालिसे,डा. सुवास आचार्य लगायत चिकित्सक, दुईजना एनेस्थेसियाका चिकित्सक र ८ जना नर्स तथा स्वास्थ्यकर्मी खटिने अस्पतालले जनाएको छ । नर्सिङतर्फको नेतृत्व भने पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालको एनेक्स वार्डको ६०१ नम्बर भीभीआईपी क्याबिनमा रहेको प्रधानमन्त्री ओलीले पहिलो मिर्गौला प्रत्यारोपण गर्दा खटिएका दुई विशेषज्ञसमेत आएका छन् । प्रत्यारोपण पछि ५/६ दिनमा आवश्यकता  प्रधानमन्त्री ओलीलाई हेरेर डिस्चार्ज गरिने अस्पतालका प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनले करिब तीनदेखि चार घण्टामा प्रत्यारोपण सकिने जनाउँदै अन्य कुनै समस्या आएमा तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.ड. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्र्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताएको छ ।

प्रधानमन्त्री ओलीकोलाई दोस्रो मिर्गौल प्रत्यारोपणमा मिर्गौला दान गर्न उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवाली पनि सोमबार नै अस्पताल भर्ना भएकी छन् ।  उनको पनि सबै स्वास्थ्य परीक्षण गरिसकेको अस्पतालले जनाएको छ । उनले बुधबार मिर्गौला दान गर्दैछन् । प्रधानमन्त्री ओलीलाई पहिलोपल्ट बुहारी नाता पर्ने अञ्जना घिमिरेले दिएकी थिइन् ।

Comments

Top